उत्तर कोरियाली क्षेप्यास्त्र रुसमा तैनाथ भइरहेको युक्रेनको दाबी

आप्रवासन आप्रवासन

 

युक्रेनको सैन्य गुप्तचर निकायले उत्तर कोरियाको क्षेप्यास्त्र इकाई रुसको पश्चिमी क्षेत्रमा तैनाथ हुन थालेको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूले उक्त इकाई युक्रेनविरुद्धको युद्धमा प्रयोग हुन सक्ने जनाएका छन् । 

सो इकाईमा करिब १२० वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा प्रक्षेपण प्रणाली परिचालन हुन सक्ने जनाइएको छ । युक्रेनको मुख्य सैन्य गुप्तचर निर्देशनालयका अधिकारी एन्ड्री चेर्नियाकले रुसले उत्तर कोरियाली क्षेप्यास्त्र इकाईलाई पश्चिमी रुसको भोरोनेज क्षेत्रमा रहेको ११२औँ क्षेप्यास्त्र ब्रिगेडअन्तर्गत राख्ने योजना बनाएको बताएका छन् । उनका अनुसार उक्त इकाई मा करिब ९० जना उत्तर कोरियाली सैन्य कर्मचारी रहने सम्भावना छ ।

युक्रेनले दाबी गरेअनुसार उत्तर कोरियाले रुसलाई नयाँ चरणमा ४० वटा केएन–२३ र केएन–२४ ब्यालिस्टिक क्षेप्यास्त्र तथा आवश्यक जनशक्ति पठाइसकेको छ । यद्यपि, क्षेप्यास्त्र इकाईको अन्तिम संरचना र कुल संख्या आगामी महिनामा हुने उच्चस्तरीय छलफलपछि तय गरिने बताइएको छ ।

चेर्नियाकका अनुसार रुसले यो तैनाथीमार्फत करिब १२० वटा उत्तर कोरियाली ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा प्रक्षेपण प्रणाली प्रयोग गर्ने अपेक्षा गरेको छ । तर उत्तर कोरियाली सैनिकहरूले रुसी क्षेप्यास्त्र अभियानमा प्रत्यक्ष रूपमा कस्तो भूमिका खेल्नेछन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।

रुसले सन् २०२३ को अन्त्यदेखि युक्रेनविरुद्ध उत्तर कोरियाली ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गर्दै आएको आरोप युक्रेनले लगाउँदै आएको छ । यदि उत्तर कोरियाली क्षेप्यास्त्र इकाई नै रुसमा परिचालन भयो भने यो मस्को र प्योङयाङबिचको सैन्य सहकार्य विस्तार भएको अर्को संकेत हुने युक्रेनको भनाइ छ । 

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र उत्तर कोरियाबिचको सम्बन्ध अझ नजिकिएको छ । दुवै देशबिच सैन्य सहयोग बढिरहेको भन्दै पश्चिमी राष्ट्रहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन् ।

युक्रेन अहिले अत्याधुनिक हवाई रक्षा प्रणालीको अभावसँग जुधिरहेको छ । विशेष गरी ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न कठिन हुने भएकाले रुसले यस्ता हतियारको प्रयोग बढाएर युक्रेनमाथि दबाब सिर्जना गर्न खोजिरहेको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

फिलाडेल्फियास्थित विदेश नीति अनुसन्धान संस्थाका वरिष्ठ अनुसन्धानकर्ता रोब लीले उत्तर कोरियाबाट आउने थप क्षेप्यास्त्र युक्रेनका लागि ठुलो चुनौती बन्न सक्ने बताएका छन् । उनका अनुसार ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनको सबैभन्दा कमजोर पक्षमध्ये एक हो । त्यसैले रुसले प्रयोग गर्ने क्षेप्यास्त्रको सङ्ख्या बढेमा किएभका लागि जोखिम अझ बढ्न सक्छ ।

रोब लीले आगामी जाडो मौसममा युक्रेनको हवाई रक्षा क्षमता विशेष चिन्ताको विषय बन्न सक्ने बताएका छन् । विगतका वर्षहरूमा रुसले युक्रेनको ऊर्जा पूर्वाधार र विद्युत् प्रणालीलाई लक्षित गर्दै ठुलो आक्रमण गरेको थियो । 

यस वर्ष पनि त्यस्तो रणनीति दोहोरिन सक्ने आशङ्का गरिएको छ । युक्रेनी अधिकारीका अनुसार रुसले गत साता उत्तर कोरियाली दुई वटा क्षेप्यास्त्र युक्रेनतर्फ प्रहार गरेको थियो । यो गत वर्ष अगस्टपछि पहिलो पटक उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग भएको घटना भएको बताइएको छ ।