अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच भइरहेको छलफलपछि स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने आशा व्यक्त गरे पनि इरानी सरकारी सञ्चारमाध्यमहरूले उनको दाबीमाथि शंका व्यक्त गरेका छन् ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बुधबार एक अज्ञात स्रोतलाई उद्धृत गर्दै इरान र ओमानबीच हुने कुनै पनि सम्भावित सम्झौताको तत्काल स्ट्रेट अफ होर्मुज पुनः खोल्नेसँग प्रत्यक्ष सम्बन्ध नरहेको जनाएको छ ।
यदि अमेरिकाले आफ्नो गतिविधि र दबाब जारी राख्यो भने इरान र ओमानबीच सहमति भए पनि स्ट्रेट अफ होर्मुज पुनः नखोलिने आईआरआईबीको समाचारमा भनिएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा होर्मुज जलडमरूमध्य चाँडै खुल्ने बताएका थिए। उनले यदि इरानले सम्झौता नगरे कडा कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका थिए ।
स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो । सामान्य अवस्थामा विश्वभर खपत हुने कच्चा तेलको करिब पाँच भागमध्ये एक भाग यही समुद्री मार्ग हुँदै ढुवानी हुने गर्छ । त्यसैले यसको बन्द वा खुला अवस्थाले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने गर्छ । यसैबीच, इरानको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता हसन घस्घावीले पनि स्ट्रेट अफ होर्मुज युद्धअघिको अवस्थामा कुनै पनि हालतमा फर्किने सम्भावना नरहेको बताएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित मिजान न्युज एजेन्सीले घस्घावीलाई उद्धृत गर्दै इरानले अमेरिकाले दबाब र धम्कीमार्फत लागू गर्न खोजेको कुनै पनि योजना स्वीकार नगर्ने जनाएको छ । घस्घावीका अनुसार तेहरान र ओमानबीच अहिले भइरहेको छलफल द्विपक्षीय विषयमा केन्द्रित छ र यसको अमेरिकासँग प्रत्यक्ष सम्बन्ध छैन । उनका अनुसार छलफलको मुख्य विषय जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषय भए पनि यसको नियन्त्रण र व्यवस्थापनबारे इरान आफ्नो अडानबाट पछि हट्ने छैन ।