शक्तिशाली एल निनोका कारण थप ४ करोड ९० लाख मानिस चरम खाद्य असुरक्षामा पर्नसक्ने राष्ट्रसंघीय निकायको चेतावनी

आप्रवासन आप्रवासन

 

 शक्तिशाली एल निनो मौसमी घटनाका कारण विश्वका केही अति जोखिममा रहेका क्षेत्रमा आगामी वर्षको अन्त्यसम्म थप करिब ४ करोड ९० लाख मानिस चरम खाद्य असुरक्षामा पर्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) दिएको छ ।

बुधबार डब्लुएफपीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अत्यन्त शक्तिशाली एल निनो विकसित हुने सम्भावना ८१ प्रतिशत रहेको छ । समुद्रको सतहको तापक्रम कम्तीमा सन् १९८२ यताकै उच्च स्तरमा पुगिरहेको छ र यसकै कारण सन् १९५० यताकै सबैभन्दा शक्तिशाली एल निनो बन्न सक्ने सम्भावना रहेको छ ।

एल निनो प्रशान्त महासागरको सतहको तापक्रम आवधिक रूपमा बढ्ने मौसमी घटना हो । यसले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ । एल निनो प्रायः दक्षिणी अफ्रिकामा खडेरी, एसियाका केही भागमा मनसुन ढिलो हुने तथा अन्य क्षेत्रमा अनियमित वर्षासँग सम्बन्धित हुन्छ ।

‘विगतमा यस्ता घटनाले ठूलो स्तरको भोकमरी निम्त्याएका छन्,’ डब्लुएफपीको खाद्य सुरक्षा तथा पोषण विश्लेषण सेवाका निर्देशक जाँ–मार्टिन बाउअरले पत्रकारहरूसँग भनेका छन् ।

एल निनोका प्रतिकूल प्रभावप्रति संवेदनशील मानिएका ४५ देशको विश्लेषणका आधारमा डब्लुएफपीले चरम खाद्य असुरक्षामा रहेका मानिसको संख्या करिब ४ करोड ९० लाखले बढेर २७ करोड ४० लाख पुग्न सक्ने अनुमान गरेको छ । यो संकटको स्तरमा वा त्यसभन्दा गम्भीर खाद्य असुरक्षामा पहिले नै रहेका जनसंख्याको तुलनामा २२ प्रतिशत वृद्धि हो ।

मध्य अमेरिका र दक्षिणी अफ्रिका बढी प्रभावित हुने
डब्लुएफपीको प्रतिवेदनअनुसार मध्य अमेरिका र दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्नेछन् । मध्य अमेरिकामा खाद्य असुरक्षामा रहेका मानिसको संख्या ८३ प्रतिशत र दक्षिणी अफ्रिकामा करिब ७५ प्रतिशत बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिणी अफ्रिकाका साथै दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पनि प्रत्येकमा थप १ करोड २० लाखभन्दा बढी मानिस चरम खाद्य असुरक्षामा पर्न सक्ने अनुमान छ । बाउअरका अनुसार सन् २०२५ मा राम्रो बाली उत्पादन भएकाले विश्व खाद्य बजार तुलनात्मक रूपमा बलियो अवस्थामा एल निनो अवधिमा प्रवेश गरेको छ । तर मध्यपूर्वमा जारी द्वन्द्व र मौसमका कारण बाली उत्पादनमा सम्भावित क्षतिले खाद्य वस्तुको मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने उनले चेतावनी दिएका छन् ।

विगतका एल निनो घटनाले सामान्यतया विश्वव्यापी खाद्य मूल्यमा ठूलो फेरबदल ल्याउने नगरे पनि क्षेत्रीय अभाव र मूल्यवृद्धिले कमजोर परिवारको खाद्य पहुँचलाई थप कठिन बनाउन सक्ने उनको भनाइ छ ।

खाद्य सुरक्षा अनुगमनमा चुनौती
सन् २०२५ मा अमेरिका र युरोपेली दाताहरूले गरेको आर्थिक सहयोग कटौतीले विकसित हुँदै गरेको खाद्य संकटको अनुगमन गर्ने प्रयासलाई पनि प्रभावित गरिरहेको डब्लुएफपीले जनाएको छ । बाउअरले एल निनोको प्रभाव मूल्यांकन गर्न प्रयोग हुने खाद्य सुरक्षा तथ्यांक संकलनमा ‘बढ्दो खडेरी’ देखिएको बताए ।

डब्लुएफपीले सन् २०२४ मा करिब ११ लाख घरधुरी सर्वेक्षण गरेको थियो । सन् २०२५ मा यस्तो सर्वेक्षणको संख्या घटेर करिब ८ लाख पुगेको थियो । आर्थिक स्रोतको अभावका कारण यस वर्ष तथ्यांक संकलन अझ घटेको छ ।

‘एल निनोजस्तो जोखिम रहेको समयमा उच्च स्तरमा तथ्यांक संकलन गर्नु महत्वपूर्ण हुन्छ,’ बाउअरले भने । अनुगमन घट्दा उदीयमान खाद्य संकटलाई छिटो पहिचान गर्न कठिन हुन सक्ने उनले चेतावनी दिए ।

समयमै कदम चाल्न आग्रह
डब्लुएफपीका अनुसार हालका मौसम पूर्वानुमानले पूर्वी अफ्रिका, साहेल क्षेत्र, मध्य अमेरिका र क्यारिबियनका केही भागमा वर्षाको कमी हुने संकेत गरेका छन् । सोमालिया र आसपासका क्षेत्रमा भने बाढीको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण तथा दक्षिणपूर्वी एसियामा पनि उल्लेखनीय प्रभाव पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । खडेरीको जोखिम, अनियमित मनसुन र स्थानीय बाढीका कारण कृषि उत्पादन प्रभावित हुन सक्ने डब्लुएफपीले जनाएको छ ।
यद्यपि मौसमसम्बन्धी पूर्वानुमान अझै अनिश्चित रहेको र एल निनोको प्रभाव क्षेत्रअनुसार फरक हुन सक्ने डब्लुएफपीले स्पष्ट पारेको छ । तर सरकार तथा मानवीय सहायता उपलब्ध गराउने निकायहरूले सम्भावित संकटका लागि अहिले नै तयारी गर्नुपर्नेमा जोड दिएको छ ।

डब्लुएफपीको जलवायु तथा उत्थान सेवाका निर्देशक रिचर्ड चुलार्टनले संस्थाले १८ देशमा पूर्वानुमानमा आधारित अग्रिम सहायता कार्यक्रम विस्तार गरेको बताए । उनका अनुसार यस वर्ष हालसम्म १३ लाखभन्दा बढी मानिसलाई अत्यधिक मौसमी घटनाबाट जोगिन नगद तथा अन्य प्रकारको सहायता उपलब्ध गराइएको छ ।