रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा बुधबार मध्यरातपछि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत व्यापक आक्रमण गर्दा मर्नेको सङ्ख्या कम्तीमा १७ जना पुगेको छ । यी आक्रमणमा ४५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
यस वर्ष किभ क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको सो घटनापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पर्याप्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध भएको भए धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन् ।
युक्रेनी आपत्कालीन सेवाका अनुसार किभ सहरमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । त्यसैगरी राजधानी आसपासको क्षेत्रमा १६ जनाको ज्यान गएको र २९ जना घाइते भएको पुष्टि गरिएको छ । उद्धार टोलीले धेरै स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ । केही भवनको भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने आशङ्का गरिएको छ ।
आक्रमणका क्रममा आवासीय भवन, रेल स्टेसन, गोदाम र अन्य पूर्वाधारमा ठुलो क्षति पुगेको छ । भीषण विस्फोटपछि विभिन्न स्थानमा आगलागी भएको थियो । युक्रेनको आपत्कालीन सेवाले किएभ क्षेत्रका पाँच स्थानमा लागेको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूले लामो समयसम्म काम गरेको जनाएको छ । आगोले करिब दुई लाख ३० हजार वर्गमिटर क्षेत्र प्रभावित भएको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युक्रेनले लामो समयदेखि आफ्ना साझेदार राष्ट्रहरूसँग थप अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली माग गर्दै आएको स्मरण गराएका छन् । उनले समयमै यस्ता प्रणाली उपलब्ध नहुँदा ठुलो जनधनको क्षति व्यहोर्नुपरेको बताए ।
यदि पर्याप्त अवरोधक क्षेप्यास्त्र उपलब्ध भएका भए धेरै निर्दोष नागरिकको ज्यान बचाउन सकिन्थ्यो । साझेदार राष्ट्रहरूबाट प्रतिरक्षा प्रणाली प्राप्त गर्न ढिलाइ हुँदा यस्तो दुःखद क्षति भइरहेको छ,’ उनले भने ।
युक्रेनको वायुसेनाका अनुसार रुसले यस आक्रमणमा २४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, ४ वटा जहाज विरोधी क्षेप्यास्त्र तथा ११५ वटा ड्रोन प्रयोग गरेको थियो । तीमध्ये ९८ वटा ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको दाबी गरिएको छ । तर रातभरको आक्रमणमा प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि रोकेको जानकारी सार्वजनिक गरिएको छैन ।
विशेषज्ञहरूका अनुसार ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न अत्याधुनिक प्रतिरक्षा प्रणाली आवश्यक पर्ने भएकाले युक्रेन अहिले त्यस्तो क्षमताको अभावसँग सङ्घर्ष गरिरहेको छ । सोही कारण रुसले पछिल्लो समय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाउँदै आएको बताइन्छ ।
उता, रुसी रक्षा मन्त्रालयले भने आक्रमण सैन्य उद्देश्यलाई लक्षित बनाएर गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण केन्द्र, सैन्य सामग्री आपूर्ति केन्द्र तथा ड्रोन उत्पादन र वितरणसँग सम्बन्धित संरचनामाथि आक्रमण गरिएको हो ।
रुसले कृष्ण सागरस्थित ओडेसा बन्दरगाह नजिक रहेका तीन वटा मालवाहक जहाजलाई पनि निशाना बनाएको जनाएको छ । ती जहाजले हतियार तथा सैन्य उपकरण ढुवानी गरिरहेको दाबी रुसी पक्षले गरेको छ । युक्रेनी पक्षले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
किभका मेयर भिताली क्लिच्कोले उद्धार टोलीले भग्नावशेष हटाउने काम जारी राखेको र केही मानिस अझै भवनभित्र फसेको हुन सक्ने आशङ्का रहेको बताएका छन् । उनले नागरिकलाई सतर्क रहन र हवाई आक्रमणको चेतावनी पालना गर्न आग्रह गरेका छन् ।