मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा टिकटकमा लाइभ प्रसारण गरिरहेका सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या गरिएको छ। टिकटकमा करिब ६ लाख ५० हजार फलोअर रहेका गास्तेलुम मंगलबार दुई जनासँगै पार्किङ क्षेत्रमा बसिरहेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए। घटनाको भिडियोमा उनीहरू नजिक आएर गास्तेलुमलाई गोली हानेपछि फरार भएको देखिन्छ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शाइनबाउमले घटनालाई ‘निन्दनीय हत्या’ भन्दै यसको कारण पत्ता लगाउन र दोषीलाई पक्राउ गर्न निर्देशन दिएकी छन्। सिनालोआमा लागूऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका ‘लोस मायोस’ र ‘लोस चापितोस’ समूहबिचको द्वन्द्वका कारण पछिल्ला वर्षहरूमा हिंसा बढेको छ।
गास्तेलुमले सामाजिक सञ्जालमा आफूलाई ‘बेलिको’ भनेर चिनाउने गरेका थिए। मेक्सिकोको केही आपराधिक उपसंस्कृतिमा यो शब्द कार्टेल संस्कृतिसँग सम्बन्ध जनाउन प्रयोग हुने गर्छ। सुरक्षा अधिकारी र स्थानीय अभियोजकहरूले गास्तेलुमले आपराधिक समूहको एक गुटतर्फ संकेत गर्ने केही भिडियो सार्वजनिक गरेको देखिएको बताएका छन्। यो घटना टिकटक लाइभकै क्रममा भएको दोस्रो चर्चित हत्या हो। मे २०२५ मा जलिस्को राज्यकी २३ वर्षीया सौन्दर्य इन्फ्लुएन्सर भालेरिया मार्केजको पनि टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या गरिएको थियो।
त्यस घटनामा अमेरिकी ट्रेजरी विभागले जलिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी)का नेतामाथि प्रतिबन्ध लगाएको थियो। बुधबार अमेरिकी ट्रम्प प्रशासनले सीजेएनजीका आठ नेताको पक्राउ वा दोषी ठहर गराउन सहयोग पुग्ने सूचनाका लागि १० करोड २० लाख डलरसम्म पुरस्कार घोषणा गरेको छ।