थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा शुक्रबार विद्यार्थीले गोली चलाउँदा आक्रमणकारी सहित कम्तीमा ७ जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
राष्ट्रिय प्रहरीका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल त्रिरोङ फोफानका अनुसार बैंककको उत्तर पश्चिमी बाहिरी क्षेत्रमा पर्ने नोनथाबुरी प्रान्तको बाङ क्रुआई जिल्लास्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलेको हो । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि घटनामा मारिएका सात जनामध्ये एक हुन् ।
घटनापछि विद्यालयबाट विद्यार्थीहरू हतारिँदै बाहिर निस्किएका थिए । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । घटनास्थलमा शिक्षकहरू एक अर्कालाई अँगालो हालेर रोइरहेको दृश्य देखिएको थियो । उद्धारकर्मीहरूले सार्वजनिक गरेका तस्बिरमा एम्बुलेन्सबाहिर एक घाइतेलाई स्ट्रेचरमा राखिएको तथा अर्का घाइतेको स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ ।
१८ वर्षीय एक विद्यार्थीले आफूले सुरुमा गोली चलेको थाहा नपाएको बताए । उनका अनुसार सुरुमा पटाका पड्किएको वा कसैले कुनै वस्तुमा प्रहार गरेको जस्तो लागेको थियो । ‘मैले सुरुमा त्यो बन्दुक हो भन्ने सोचिनँ,’ उनले भने । ‘धेरै पटक गोली चलेको आवाज आयो । ड्याङ, ड्याङ, ड्याङ । त्यसपछि केहीबेर शान्त भयो । फेरि गोली चल्न थाल्यो ।’
थाइल्यान्डका शिक्षा मन्त्री प्रसर्ट जन्तारारुआङटोङले मृतकमध्ये शिक्षक र विद्यार्थी दुवै रहेको बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्ति पनि विद्यालयकै विद्यार्थी भएको पहिचान गरेको छ ।