फ्रान्ससँग उपनिवेशवादविरुद्ध लड्ने आफ्ना नेताका खोपडी फिर्ता माग्दै गिनी

आप्रवासन आप्रवासन

 

 पश्चिम अफ्रिकी देश गिनीले १९औँ शताब्दीमा फ्रान्सेली उपनिवेशवादविरुद्ध लडेका आफ्ना ऐतिहासिक व्यक्तित्वहरूको खोपडी तथा व्यक्तिगत सामग्री फिर्ता गर्न फ्रान्ससँग माग गरेको छ ।

 गिनीको संस्कृति मन्त्रालयले फ्रान्ससमक्ष ति सामाग्री गिनीलाई फिर्ता गर्न औपचारिक अनुरोध पठाइएको हो । माग गरिएका अवशेषमध्ये आधुनिक गिनी क्षेत्रमा पर्ने फुता–जालोनको मुस्लिम राज्यका अन्तिम नेता बुबाकर बिरो बारीको खोपडी खास छ । सन् १८९६ मा फ्रान्सेली सेनासँगको युद्धपछि बारी, उनका छोरा, भाइ र सैन्य प्रमुखलाई टाउको काटेर हत्या गरिएको थियो । गिनीले ती चारै जनाको खोपडी फिर्ता मागेको छ ।

गिनीले उपनिवेशवादविरुद्ध संघर्ष गरेका योद्धा तथा धार्मिक नेता समोरी तुरेसँग सम्बन्धित सामग्री पनि फिर्ता गर्न माग गरेको छ । त्यसमा उनका हस्तलिखित पाण्डुलिपि, तरबार, टोपी र ‘बुबु’ नामक परम्परागत पोसाक छन् । गिनीका संस्कृति मन्त्री मुसा मोइज सिल्लाका अनुसार गिनी सरकारले बारी र उनका सहयोद्धाहरूको अवशेष फिर्ता ल्याउन आवश्यक सबै कदम चाल्नेछ । फलस्वरुप, उनीहरूलाई आफ्ना पुर्खाको भूमिमा सम्मानपूर्वक अन्त्येष्टि गर्न सकियोस् ।

गिनीको माग फ्रान्सले उपनिवेशकालमा लुटिएका सांस्कृतिक तथा ऐतिहासिक सामग्री फिर्ता गर्ने प्रक्रिया सहज बनाउन थालेको समयमा आएको हो । सन् २०२५ सेप्टेम्बरमा फ्रान्सले माडागास्करमा उपनिवेशकालीन हिंसा पीडित तीनजनाको खोपडी फिर्ता गरेको थियो । तीमध्ये एउटा सन् १८९७ को अम्बिकी नरसंहारमा फ्रान्सेली सेनाबाट मारिएका राजा तोएराको हुन सक्ने विश्वास गरिएको छ ।

यसैगरी, फ्रान्सेली संसदले गत मेमा उपनिवेशकालमा लुटिएका कलाकृति फिर्ता गर्न सहज बनाउने कानुन पारित गरेको थियो । यो कदम राष्ट्रपति इमानुएल म्याक्रोँले सन् २०१७ मा बुर्किना फासोको राजधानी ओआगादुगुमा गरेको प्रतिबद्धताको कार्यान्वयनका रूपमा हेरिएको छ ।