भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको आपराधिक मुद्दा खारेज गरिएको छ । सोमबार ब्रुकलिनस्थित अमेरिकी जिल्ला न्यायाधीश निकोलस गाराउफिसले संघीय अभियोजकहरूको अनुरोध स्वीकार गर्दै अडानीविरुद्धको ठगी तथा घुससम्बन्धी आपराधिक आरोप खारेज गरेका हुन् । अमेरिकी न्याय मन्त्रालयले यसअघि मे महिनामा अडानीविरुद्धको मुद्दा अघि नबढाउने निर्णय गरेको थियो । त्यसपछि अभियोजन पक्षले न्यायाधीशसँग मुद्दा फिर्ता लिनुको कारणबारे विस्तृत जानकारी मागेका थिए ।
सन् २०२४ नोभेम्बरमा अडानीले अमेरिकामा १० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त लगानीको प्रतिबद्धता मुद्दा फिर्ता लिने निर्णयसँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा न्यायाधीशले प्रश्न उठाएका थिए । उक्त लगानी प्रतिबद्धताले न्याय मन्त्रालयको निर्णयमा प्रभाव नपारेकोमा आफू सन्तुष्ट रहेको न्यायाधीश गाराउफिसले अन्ततः बताए । साथै, संघीय अभियोजकहरूले मुद्दा फिर्ता लिने निर्णयमा अदालतको हस्तक्षेप गर्ने अधिकार सीमित रहेको पनि उनले स्वीकार गरेका छन् ।
तर उनले न्याय मन्त्रालयका प्रधान उपसहायक महान्यायाधिवक्ता ट्रेन्ट म्याककटरको कार्यशैलीको भने निकै आलोचना गरे । म्याककटरले मुद्दा अनुसन्धान गर्ने अभियोजक तथा संघीय अधिकारीहरूसँग पर्याप्त परामर्श नगरी अडानीका कानुनी प्रतिनिधिहरूसँग सहकार्य गरेर मुद्दा खारेज गर्ने निर्णय गरेको न्यायाधीशको भनाइ छ । ‘मुद्दा खारेज गर्ने निर्णयमा देखिएका अनियमितता चिन्ताजनक छन्,’ न्यायाधीशले आफ्नो आदेशमा उल्लेख गरेका छन् । उनका अनुसार म्याककटरले विभिन्न संघीय निकायका धेरै अधिकारीहरूको व्यावसायिक रायलाई बेवास्ता गर्दै आफ्नै निर्णयलाई प्राथमिकता दिएको देखिन्छ ।
अमेरिकी न्याय मन्त्रालयले भने म्याककटरले प्रतिरक्षा पक्षका वकिल तथा न्याय विभागका अन्य कानुनी अधिकारीहरूसँग भेटघाट गरेपछि आफ्नै अनुसन्धान र विश्लेषणका आधारमा मुद्दा फिर्ता लिने निर्णय गरेको जनाएको छ । अडानीले सामाजिक सञ्जालमार्फत अमेरिकी अदालतको निर्णयको स्वागत गरेका छन् । आफूले निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्ने र न्यायिक प्रक्रियाप्रति गहिरो सम्मान रहेको पनि उनले बताए ।
अमेरिकाले सन् २०२४ मा अडानीमाथि भारतमा सरकारी अधिकारीहरूलाई घुस दिने सहमति गरेको आरोप लगाएको थियो । उनको समूहअन्तर्गतको एउटा कम्पनीलाई सौर्य ऊर्जा परियोजना विकासको स्वीकृति दिलाउन घुस दिने योजना बनाइएको अमेरिकी अभियोजन पक्षको दाबी थियो । त्यसपछि अडानी समूहले आफ्ना भ्रष्टाचारविरोधी अभ्यासबारे अमेरिकी लगानीकर्तालाई भ्रमित पार्ने खालका जानकारी दिएको आरोप पनि लगाइयो । अडानी समूहले निरन्तर यी आरोपहरू अस्वीकार गर्दै आएको छ ।