सामाजिक सञ्जालको लत लगाएको आरोपमा मेटासहित टेक कम्पनीविरुद्ध अघि बढ्दैछ तीन हजारभन्दा बढी मुद्दा

आप्रवासन आप्रवासन

 

 अमेरिकाको अपिल अदालतले युवा प्रयोगकर्तालाई सामाजिक सञ्जालमा निर्भर तथा लत लाग्ने गरी आफ्ना प्लेटफर्म डिजाइन गरेको आरोपमा मेटा प्लेटफर्म, गुगल, टिकटक र स्न्यापच्याटविरुद्ध दायर भएका हजारौँ मुद्दालाई अघि बढ्न दिने फैसला गरेको छ ।

सान फ्रान्सिस्कोस्थित नवौँ अमेरिकी सर्किट कोर्ट अफ अपिल्सले सोमबार मेटा र टिकटकले तल्लो अदालतको निर्णयविरुद्ध गरेको अपिल अस्वीकार गरेको हो । ती कम्पनीहरूले संघीय अदालतमा दायर ३ हजारभन्दा बढी मुद्दा सामना गर्नुपर्ने अवस्था छ । मुद्दामा सामाजिक सञ्जाल कम्पनीहरूले विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गर्दै आफ्ना उत्पादनलाई जानाजानी लत लाग्ने किसिमले डिजाइन गरेको आरोप लगाइएको छ ।

कम्पनीहरूले सन् १९९६ को सञ्चार शालीनता ऐनको धारा २३० लाई आधार बनाउँदै उनीहरूविरुद्धका मुद्दा रोक्नुपर्ने तर्क गरेका थिए । धारा २३० ले सामान्यतः अनलाइन प्लेटफर्मलाई प्रयोगकर्ताले पोस्ट गरेको सामग्रीका कारण उत्पन्न हुने केही कानुनी दायित्वबाट सुरक्षा प्रदान गर्छ । कम्पनीहरूले यही कानुनी प्रावधानले आफ्ना प्लेटफर्मको कथित लतसम्बन्धी चेतावनी नदिएको आरोपमा पनि मुद्दा चलाउन रोक्ने दाबी गरेका थिए । तर नवौँ सर्किट अदालतले धारा २३० ले कम्पनीलाई मुद्दाबाट पूर्ण उन्मुक्ति नभई कानुनी दायित्वबाट बच्ने प्रतिरक्षा मात्र प्रदान गर्ने व्याख्या गरेको छ ।

कम्पनीहरूले अहिले नै यस विषयमा अपिल गर्नु समयभन्दा अगाडि भएको अदालतको भनाइ छ । सामान्यतः मुद्दाको अन्तिम फैसला वा फैसला भएपछि मात्रै अपिल गर्न मिल्ने भएकाले तल्लो अदालतको निर्णयविरुद्ध तत्काल गरिएको अपिल स्वीकार गर्न नसकिने अदालतको भनाइ छ । अदालतले मेटाको अर्को मागसमेत अस्वीकार गरेको छ । मेटाले २९ अमेरिकी राज्यका महान्यायाधिवक्ताले दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गर्न माग गरेको थियो ।

उक्त मुद्दाको सुनुवाइ बुधबारदेखि सुरु हुने तय भएको छ । राज्यहरूले मेटाले बालबालिकाको तथ्यांक गैरकानुनी रूपमा संकलन तथा प्रयोग गरेको, युवा प्रयोगकर्तालाई प्लेटफर्ममा लामो समयसम्म राख्ने गरी सामाजिक सञ्जाल डिजाइन गरेको र आफ्ना सेवाको सुरक्षाबारे उपभोक्तालाई भ्रमित गरेको आरोप लगाएका छन् । मेटाले भने अपिल विचाराधीन रहेकाले परीक्षण अघि बढाउन नहुने तर्क गरेको थियो । अदालतले उक्त माग अस्वीकार गरेपछि सुनुवाइ अघि बढ्ने भएको छ ।

यो फैसला न्यू मेक्सिकोको अदालतले मेटाविरुद्ध ठुलो जरिवाना तोकेको केही दिनपछि आएको हो । गत साता न्यू मेक्सिकोका न्यायाधीशले मेटाले राज्यमा सार्वजनिक उपद्रव सिर्जना गरेको ठहर गर्दै ५६ करोड ७० लाख अमेरिकी डलर तिर्न आदेश दिएका थिए । साथै, युवाको सुरक्षा सुधार गर्ने उपाय लागू गर्न पनि आदेश दिइएको थियो ।

के आरोप छन् ३ हजारभन्दा बढी मुद्दामा ?

अमेरिकाका विभिन्न राज्य, स्थानीय निकाय, विद्यालय जिल्ला, अभिभावक तथा व्यक्तिहरूले मेटासहितका सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । वादीहरूले कम्पनीहरूले बालबालिका तथा किशोरकिशोरीलाई जानाजानी सामाजिक सञ्जालको लत लगाउने उत्पादन निर्माण गरेको आरोप लगाएका छन् । यसको परिणामस्वरूप अमेरिकी युवामा डिप्रेसन, चिन्ता, शरीरको स्वरूपप्रतिको असन्तुष्टि तथा अन्य मानसिक स्वास्थ्य समस्या बढेको उनीहरूको दाबी छ । यी मुद्दामा मेटासँगै गुगल, टिकटक र स्न्यापच्याट पनि प्रतिवादी छन् ।

हजारौँ विद्यालय जिल्ला र व्यक्तिहरूको तर्फबाट मुद्दा लडिरहेका वकिलहरूले अदालतको पछिल्लो निर्णयले राज्यहरूको मुद्दा अघि बढाउन बाटो खुलेको बताएका छन् । विद्यालय जिल्लाहरूले दायर गरेको छुट्टै मुद्दाको सुनुवाइ पनि आगामी फेब्रुअरीमा हुने तय गरिएको छ ।

वादी पक्षका वकिलहरूले सुनुवाइबाट मेटालाई आफ्ना उत्पादनले बालबालिकामा पार्ने प्रभावबारे के थाहा थियो ?, कहिले थाहा थियो ?र त्यसपछि कम्पनीले के कदम चाल्यो ? भन्ने विषय सार्वजनिक हुने बताएका छन् । मेटाले भने पछिल्लो अदालतको निर्णयबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको अनि टिकटकका प्रतिनिधिले पनि तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले आफ्नो समाचारमा भनेको छ ।