ट्रुथ सोसल चलाउने ट्रम्पको कम्पनीलाई २३ करोड डलर घाटा

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले चालु वर्षको अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकमा २३ करोड ८० लाख अमेरिकी डलर घाटा व्यहोरेको छ । कम्पनीका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यसपटकको घाटा १० गुणाभन्दा बढी हो । 

ट्रम्प मिडियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ चलाउँछ । कम्पनीले सञ्चारमाध्यम व्यवसायसँगै क्रिप्टोकरेन्सी तथा अन्य क्षेत्रमा लगानी विस्तार गरेपछि पछिल्लो घाटा बढेको बताइएको छ । विशेषगरी डिजिटल मुद्राको मूल्यमा आएको कमीले कम्पनीको समग्र वित्तीय परिणाममा ठुलो असर पारेको छ ।

यद्यपि, दोस्रो त्रैमासमा कम्पनीको आम्दानी भने १७ लाख डलर पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत बढी हो । कम्पनीले जुन अन्त्यसम्ममा आफ्नो कुल सम्पत्ति करिब २ अर्ब डलर पुगेको जनाएको छ । त्यसमध्ये नगद, अल्पकालीन लगानी तथा डिजिटल मुद्रासहितका वित्तीय सम्पत्ति करिब १ अर्ब ९० करोड डलर रहेको छ ।

ट्रम्प मिडिया पछिल्लो समय सामाजिक सञ्जाल व्यवसायभन्दा बाहिर क्रिप्टोकरेन्सी होल्डिङ तथा स्वच्छ ऊर्जा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । तर कम्पनीले अहिलेसम्म नाफा कमाउन सकेको छैन । १०एक्स रिसर्चका विश्लेषक मार्कस थिलेनका अनुसार ट्रम्प मिडिया अहिले मूलतः मिडिया कम्पनीको आवरणमा रहेको क्रिप्टोकरेन्सी होल्डिङ कम्पनीजस्तो देखिएको छ । 

कम्पनीको ठुलो हिस्सा घाटा पनि यही रणनीतिका कारण भएको उनको भनाइ छ । कम्पनीले क्रिप्टोकरेन्सीबाहेक सामाजिक सञ्जाललगायतका क्षेत्रमा विविधीकरण गरिरहेको भए पनि ती नयाँ व्यवसायले अहिलेसम्म उल्लेख्य आम्दानी गर्न नसकेको उनले बताए ।