इरानसँग ट्रम्पले मागे क्षतिपूर्ति, जटिल बन्यो होर्मुज खुलाउने सम्झौता

आप्रवासन आप्रवासन

 

स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्नुअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः कखोल्न दुई पक्षबीच हुने सम्भावित सहमति थप जटिल बनेको छ ।

इरानले शान्ति सम्झौताका लागि क्षतिपूर्ति र अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने सर्त अघि सारेको थियो । त्यसको जवाफमा इरानले पनि विगत करिब ५० वर्षमा भएको क्षतिको रकम तिर्नुपर्ने ट्रम्पले बताए ।

ह्वाइट हाउसमा बोल्ने क्रममा ट्रम्पले इरानका कारण मृत्यु भएका नागरिक तथा पश्चिम एशियाली क्षेत्रमा मारिएका अमेरिकी सैनिकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने समेत भनेका छन् । ‘उनीहरूले गरेको क्षतिको पैसा हामी माग्नेछौँ,’ ट्रम्पले भने । भएको क्षतिको जिम्मेवारी इरानले लिनुपर्ने ट्रम्पको अडान छ । फेब्रुअरीमा युद्ध सुरु भएयता ट्रम्पले कहिले सैन्य तनाव बढाउने चेतावनी दिने र कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गरिरहेका छन् ।  

ट्रम्पको नयाँ मागसँगै स्ट्रेट अफ होर्मुज पुनःखोल्ने विषयमा सहमति हुने सम्भावना कमजोर बनेको छ । यसको असर अन्तर्राष्ट्रिय तेल बजारमा समेत परेको छ । सोमबार तेलको मूल्य करिब ५ प्रतिशतले बढेको छ । रोयटर्सले छापेको समाचार अनुसार ब्रेन्टको भाउ ४ दशमलव ९९ प्रतिशतले बढेर प्रतिब्यारेल  ८७ डलर ७२ सेन्ट पुगेको छ । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि ५ दशमलव शून्य ५ प्रतिशतको वृद्धिसहित ब्यारेलकै ८२ डलर १३ सेन्टमा उक्लिएको छ ।

इरानले यसअघि ओमानसँग स्ट्रेट अफ होर्मुज हुँदै दुई देशबीच नयाँ पानीजहाज मार्ग निर्धारण गर्ने अन्तिम सम्झौताको नजिक पुगेको बताएको थियो । तर तेहरानले अमेरिका पनि सम्झौताका केही सर्त मान्नुपर्ने स्पष्ट गरेको छ । ती सर्तमा क्षतिपूर्ति, अमेरिकी प्रतिबन्धको अन्त्य तथा सैन्य धम्की रोक्नुपर्ने माग प्रमुख छन् । इरानका यी मागहरू जुन महिनामा भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तसँग धेरै हदसम्म मिल्दोजुल्दो थिए । तर उक्त प्रारम्भिक सम्झौतापछि कार्यान्वयनमा जान सकेन ।

ट्रम्पले सन् २०२५ को अन्त्य र सन् २०२६ मा भएका प्रदर्शनमाथि इरानी सरकारको दमनको विषय उठाउँदै करिब ६ साताअघि सम्ममा ५२ हजार प्रदर्शनकारी मारिएको दाबी गरेका छन् । तर अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए)ले फेब्रुअरीमा सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ७ हजार मानिसको मृत्यु भएको र त्यसमध्ये करिब ६ हजार ५०० जना प्रदर्शनकारी रहेको जनाएको थियो ।

इरानी विपक्षी तथा निर्वासित समूहहरूले भने योभन्दा धेरै मानिस मारिएको दाबी गर्दै आएका छन् । फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि ट्रम्पले इरानी नागरिकलाई सरकारविरुद्ध उभिन आह्वान गरेका थिए । मानवअधिकार समूहहरूका अनुसार त्यसयता पनि इरानी सरकारले विपक्षी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि दमन जारी राखेको छ ।

ट्रम्पले सन् २००० मा यमनमा अमेरिकी नौसेनाको जहाज यूएसएस कोलमाथि भएको हमलामा मारिएका १७ अमेरिकी नाविकका परिवारलाई पनि इरानले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । अल कायदाले गराएको उक्त हमलाका लागि इरानलाई जिम्मेवार ठहराइएको थिएन । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानले लेबनान, सिरिया, यमन र गाजाका मानिसको मृत्यु तथा क्षतिका लागि पनि जिम्मेवारी लिनुपर्ने बताएका छन् ।