सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल–असदलाई सिरियामा १४ वर्ष चलेको द्वन्द्वका क्रममा मानवताविरुद्धका अपराध तथा युद्ध अपराध गरेको अभियोगमा मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ । सिरियाली द्वन्द्वमा करिब पाँच लाख मानिसको ज्यान गएको थियो ।
दमास्कसस्थित चौथो फौजदारी अदालतले सुनाएको यो फैसला असद परिवारको करिब पाँच दशक लामो शासन सन् २०२४ को डिसेम्बरमा अन्त्य भएपछि असद वा उनका निकट सहयोगीविरुद्ध आएको पहिलो ठूलो न्यायिक फैसला हो । अदालतको सुनुवाइ सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । न्यायाधीश फखरेद्दिन अल–अर्यानले अदालतमा बसर असदले ‘युद्ध अपराध र मानवताविरुद्धका अपराध गर्न राज्यका निकायहरू प्रयोग गरेको’ बताएका थिए ।
सोही मुद्दामा असदका मावलीतर्फका काका आतेफ नाजिबलाई पनि मृत्युदण्ड सुनाइएको छ । उनी सन् २०११ मा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । उनलाई तत्कालीन सरकारविरोधी प्रदर्शन दबाउने क्रममा भएका हत्या, यातना र मनोमानी गिरफ्तारीलगायतका घटनामा जिम्मेवार ठहर गरिएको थियो । नाजिबलाई कडा सुरक्षा व्यवस्थाबीच अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशले फैसला सुनाउँदा उनी कैदीको पोसाकमा घेराभित्र उभिएका थिए । फैसला सुन्न दमास्कसको केन्द्रीय अदालतबाहिर ठूलो संख्यामा मानिस जम्मा भएका थिए ।
दारामा भएको दमनबाट सुरु भएको विद्रोह
नाजिब सन् २०११ मा दारा प्रान्तको राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । त्यसबेला विद्यालयको भित्तामा सरकारविरोधी नाराहरू लेखेको आरोपमा एक दर्जनभन्दा बढी किशोरलाई पक्राउ गरी यातना दिइएको थियो ।
त्यस घटनाले असद सरकारविरुद्ध ठूलो जनप्रदर्शन सुरु हुन उत्प्रेरित गरेको थियो । सुरक्षाकर्मीको कठोर दमनपछि प्रदर्शन क्रमशः सशस्त्र द्वन्द्वमा परिणत भयो र अन्ततः १४ वर्ष लामो गृहयुद्धमा बदलियो ।
सन् २०२४ को डिसेम्बरमा विद्रोहीको तीव्र सैन्य अभियानपछि असदको शासन ढलेको थियो । त्यसपछि बसर असद र उनका भाइ माहेर रुस भागेका थिए र उनीहरूले त्यहाँ राजनीतिक शरण पाएका छन् । सिरियाका नयाँ शासकहरूले रुससँग असद दाजुभाइलाई सिरिया फिर्ता पठाउन माग गर्दै आएका छन् ।
असदको अनुपस्थितिमा गरिएको सुनुवाइका कारण फैसला तत्काल कार्यान्वयन हुने अवस्था छैन ।
माहेर असदको भूमिका
बसर अल–असदका भाइ माहेर अल–असद सिरियाली सेनाको चौथो बख्तरबन्द डिभिजनका पूर्वकमाण्डर थिए । सिरियाली विपक्षी अभियन्ताहरूले उक्त सैन्य संरचनामाथि हत्या, यातना, जबर्जस्ती असुली र लागुऔषध कारोबारलगायतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् । उक्त डिभिजनले आफ्नै हिरासत केन्द्रहरू सञ्चालन गरेको आरोपसमेत लागेको थियो ।
आतेफ नाजिबलाई यसअघि सन् २०११ मा अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएको थियो । उनी असद शासनका उच्च तहका अधिकारीमध्ये अदालतमा उपस्थित गराई मुद्दा चलाइएका प्रमुख व्यक्तिमध्ये एक हुन् ।
असद शासनका अन्य उच्च अधिकारीविरुद्ध पनि मुद्दा चलाउने प्रक्रिया अघि बढिरहेको छ । सन् २०२६ अप्रिलमा सुरु भएको चौथो फौजदारी अदालतको प्रक्रियामा बसर र माहेरसहित तत्कालीन शासनका अन्य वरिष्ठ अधिकारीहरूको नाम अभियोगपत्रमा समावेश गरिएको थियो ।
सिरियामा २०११ मा सुरु भएको विद्रोह गृहयुद्धमा परिणत भएपछि सरकारी सेना, विपक्षी समूह तथा विदेशी शक्तिहरूको संलग्नताले द्वन्द्व थप जटिल बनेको थियो । करिब डेढ दशक चलेको युद्धले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।