इरानमा सैन्य नेतृत्व व्यापक फेरबदल, कट्टरपन्थी नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारी

आप्रवासन आप्रवासन

 

स्ट्रेट अफ होर्मुजमा समुद्री सुरक्षा र यस जलमार्ग भएर हुने व्यावसायिक आवागमनसम्बन्धी अमेरिका इरानबिच वार्ता रोकिएका बेला इरानले आफ्नो शीर्ष सैन्य नेतृत्वमा ठुलो फेरबदल गरेको छ ।

सर्वोच्च नेता मोज्तबा खामेनीले वरिष्ठ सैन्य अधिकारीहरूको नियुक्ति गर्दै रिक्त रहेका महत्त्वपूर्ण पदहरू पूर्ति गरेका छन् । अमेरिका र इजरायलको हवाई आक्रमणमा इरानी सैन्य तथा राजनीतिक नेतृत्वका केही उच्च अधिकारी मारिएपछि रिक्त रहेका पदमा नयाँ अधिकारी नियुक्त गरिएको हो । नयाँ नियुक्तिले इरानी सेनामा स्पष्ट नेतृत्व संरचना कायम गर्ने र देशको सैन्य संयन्त्र स्थिर रहेको सन्देश दिने उद्देश्य राखेको देखिन्छ ।

इरानको सशस्त्र सेना, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) तथा अन्य सुरक्षा निकायमा गरी वरिष्ठ तहका अधिकारीहरूको नियुक्ति गरिएको छ । मेजर जनरल तथा पाइलट अली अब्दोल्लाहीलाई इरानी सशस्त्र सेनाको जनरल स्टाफ प्रमुख नियुक्त गरिएको छ । उनले यसअघि उक्त पदमा रहेका र अघिल्लो आक्रमणमा मारिएका अब्दोलरहिम मूसावीको स्थान लिएका छन् ।

त्यस्तै ब्रिगेडियर जनरल किउमार्स हैदारीलाई सशस्त्र सेनाको उपप्रमुख बनाइएको छ ।

पूर्व रक्षामन्त्री तथा गृहमन्त्री अहमद वाहिदीलाई मेजर जनरलमा बढुवा गर्दै आईआरजीसीको कमान्डर–इन–चीफ नियुक्त गरिएको छ । उनले अघिल्लो आक्रमणमा मारिएका मोहम्मद पाकपुरको स्थान लिएका छन् ।मेजर जनरल मोस्तफा इजादीलाई आईआरजीसीको उपकमान्डर नियुक्त गरिएको छ । इरानी सैन्य नेतृत्वमा भएको यो फेरबदल सर्वोच्च नेता मोज्तबा खामेनेईले पद सम्हालेपछि गरिएको पहिलो ठुलो सैन्य पुनर्संरचना हो ।

फेब्रुअरीको अन्त्यतिर भएका अमेरिकी–इजरायली आक्रमणमा इरानका उच्च सैन्य अधिकारी तथा राजनीतिक व्यक्तित्व मारिएका थिए । यी आक्रमणमा मर्नेमा इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी पनि थिए । त्यसपछि इरानी सेनाका केही महत्त्वपूर्ण पद रिक्त रहेका थिए भने केही पदमा अन्तरिम नेतृत्वबाट काम चलाइएको थियो ।