युक्रेनमाथि आक्रमण गर्न रुसले उत्तर कोरियाली मिसाइल प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी

आप्रवासन आप्रवासन

 

युक्रेनमाथि आक्रमण गर्न रूसले आफ्ना सहयोगी उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिरहेको दाबी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।

 युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जियामा भएको पछिल्लो रुसी आक्रमणमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिएको जेलेन्स्कीले भने । उक्त आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएको बताइएको छ ।  

रूस अहिले पहिलोपटक उत्तर कोरियाबाट प्राप्त सैन्य सहयोगबिना युद्ध सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको दाबी पनि जेलेन्स्कीले सोमबार साँझको भिडियो सम्बोधनमा गरे । उनका अनुसार युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्र र सैनिकको प्रयोग बढ्दै जाँदा त्यसले उत्तर कोरियाली सेनालाई आफ्ना कमजोरी तथा सैन्य रणनीतिमा सुधार गर्ने अवसर दिइरहेको छ । यस्तो सहकार्यले युक्रेन मात्र नभई विश्वकै सुरक्षाका लागि जोखिम बढाउने जेलेन्स्कीको भनाइ छ ।

यसअघि पनि जेलेन्स्कीले बारम्बार रूसलाई उत्तर कोरियाबाट सैन्य सहयोग प्राप्त भइरहेको आरोप लगाएका थिए । ५० हजारसम्म उत्तर कोरियाली सैनिक रूसी भूभागको रक्षा गर्ने सैन्य अभियानमा सहभागी हुन पठाइन सक्ने चेतावनी सप्ताहन्तमा उनले दिएका थिए । रूस र उत्तर कोरियाबीच पछिल्ला वर्षहरूमा सैन्य सहकार्य बढेको छ । तर दुवै देशले युक्रेन युद्धमा उत्तर कोरियाली क्षेप्यास्त्र वा ठूलो संख्यामा सैनिक प्रयोग भएको विषयमा गरेका आरोपलाई लिएर विभिन्न समयमा फरक–फरक प्रतिक्रिया दिएका छन् ।

युक्रेन र रूसबीच रातभर एकअर्कामाथि हवाई आक्रमण जारी रह्यो । रूसको दक्षिणी भागमा पर्ने भोरोनेज क्षेत्रमा युक्रेनले अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित गोदाम तथा लजिस्टिक केन्द्रमा ड्रोन आक्रमण गरेको रिपोर्ट आएको छ । रूसको ‘अमेजन’जस्तै मानिने वाइल्डबेरीजका विभिन्न गोदाम यसअघि पनि युक्रेनी ड्रोन आक्रमणको निशानामा पर्दै आएका छन् । कम्पनीले भोरोनेज क्षेत्रमा रहेका आफ्ना केही संरचना खाली गरिएको जनाएको छ, तर पछिल्लो घटनालाई तत्काल आक्रमणका रूपमा पुष्टि गरेको छैन ।