प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार २ हजार ११ जनाको मृत्यु भइसकेको छ । देशको पाँच प्रान्तमा संक्रमितको संख्या पनि ४ हजार ३८१ पुगेको बताइएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपमध्ये एक बताएका छन् ।
कंगोमा फैलिएको यो इबोलाको १७औँ प्रकोप हो । यसपटक बुन्डिबुग्यो स्ट्रेनको कारण संक्रमण फैलिरहेको छ । यस स्ट्रेनविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार उपलब्ध छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कंगोमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेको छ । संक्रमण छिमेकी देश युगान्डासम्म पनि पुगेको बताइएको छ ।
कंगोको इटुरी प्रान्तमा संक्रमण जनवरी वा त्यसअघि नै फैलिन सुरु भएको हुन सक्ने गत महिना साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको थियो । अध्ययनमा जनवरीको मध्यदेखि मे १५ सम्म ५०० भन्दा बढी शंकास्पद संक्रमित भेटिएको उल्लेख छ ।
समयमै संक्रमितको पहिचान हुन नसक्नु, प्रभावित क्षेत्रमा जारी द्वन्द्व तथा कमजोर स्वास्थ्य सेवाका कारण भाइरस अघिल्ला प्रकोपको तुलनामा निकै तीव्र गतिमा फैलिएको स्वास्थ्य अधिकारीहरूले भनेका छन् ।