इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बिच अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको झन्डा बोकेको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी सेनाका अनुसार चेतावनी दिए पनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानको नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ। त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमले जनाएको छ।
यो घटनासँगै स्ट्रेट अफ हरबुजमा तनाव थप बढेको छ। होर्मुज विश्वकै महत्त्वपूर्ण तेल तथा व्यापारिक जलमार्गमध्ये एक हो। इरानले अमेरिकी सैन्य कारबाही र नाकाबन्दीको विरोधमा यस जलमार्गबाट हुने जहाज आवतजावत रोक्दै आएको छ। इरानले स्ट्रेट अफ हरबुज पुनः खोल्नुअघि अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र क्षेत्रमा युद्धविराम लागू गर्नुपर्ने उसको माग छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यी सबै माग पूरा नभएसम्म स्ट्रेट अफ हरबुज बन्द रहने बताएका छन्।
होर्मुज खोल्न वार्ता जारी
यसैबिच कतारले ओमान र इरानबिच स्ट्रेट अफ हरबुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सुरु गर्ने विषयमा भइरहेको वार्ता महत्त्वपूर्ण चरणमा पुगेको जनाएको छ।
पूर्व अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलन एरका अनुसार इरान र ओमानले ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत व्यवस्थापन गर्ने योजनामा सहमति गरेका छन्। योजनाअनुसार जहाजहरू इरानी नियन्त्रणमा छुट्टाछुट्टै मार्गबाट आवतजावत गर्नेछन्। तर यो योजना लागू गर्न अमेरिकाको सहमति आवश्यक रहेको उनले बताएका छन्।
यसैबिच पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी मध्यस्थताका लागि तेहरान पुगेका छन्। उनले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गरेका छन्।
पाकिस्तानले अमेरिका–इरान युद्ध रोक्न र स्ट्रेट अफ हरबुजबाट अन्तर्राष्ट्रिय जहाज आवतजावत पुनः सुरु गराउन मध्यस्थता गरिरहेको छ।
बाब अल–मन्देबमा पनि तनाव
उता यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा सैन्य सामग्री बोकेको साउदी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। हुथी समूहको समाचार संस्था साबाले यस्तो जानकारी दिएको हो।
यमनको तटरक्षक बलका अनुसार हुथी आक्रमणमा एउटा व्यावसायिक जहाजमा सवार ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
होर्मुजसँगै बाब अल–मन्देबमा पनि तनाव बढेपछि मध्यपूर्वको समुद्री व्यापार र विश्वव्यापी आपूर्ति प्रणालीमा थप दबाब परेको छ।
पश्चिम किनारमा पनि हिंसा बढ्दै
यसैबिच संयुक्त राष्ट्रसंघले कब्जामा रहेको पश्चिम किनाराको अवस्था गम्भीर बन्दै गएको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रामिज अलअकरबका अनुसार यस वर्ष अहिलेसम्म पश्चिम किनारामा ७६ प्यालेस्टिनी मारिएका छन्। तीमध्ये १८ जना बालबालिका छन्।
यता इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नै सैन्य गतिविधिलाई लक्षित गरेर गल्तीवश इन्टरसेप्टर प्रक्षेपण गरेको जनाएको छ। सेनाका अनुसार पछि उक्त लक्ष्य आफ्नै सेनाको गतिविधि भएको पहिचान भएको थियो।
घटनामा कोही घाइते नभएको र कुनै साइरन पनि नबजेको इजरायली सेनाले जनाएको छ।