रुससँगको जारी युद्ध अन्त्य गर्न युक्रेनले अमेरिकालाई पठायो प्रस्ताव

आप्रवासन आप्रवासन

 

रुससँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनले अमेरिकासमक्ष नयाँ प्रस्तावहरू पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार राति भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले अमेरिकी पक्षलाई युद्ध अन्त्यका लागि युक्रेनका प्रस्तावहरू बुझाइएको जानकारी दिएका हुन् । 

उनका अनुसार अमेरिकाले युक्रेनको रक्षा क्षमता, विशेषगरी हवाई सुरक्षालाई बलियो बनाउन सहयोग गर्न सक्नेछ । साथै, रुसमाथि युद्ध अन्त्यतर्फ अघि बढ्न दबाब बढाउनुपर्ने पनि उनले बताए । जेलेन्स्कीले प्रस्तावका विस्तृत विषय सार्वजनिक गरेका छैनन् । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्यका लागि भइरहेका वार्ता पछिल्लो समय लगभग ठप्प छन् । अमेरिकी वार्ताकार स्टिभ विटकफ र जारेड कुशनर पछिल्लो पटक जनवरीमा मस्को पुगेका थिए । उनीहरू अहिलेसम्म युक्रेनको राजधानी किएभ पुगेका छैनन्। 

युक्रेनले लामो समयदेखि युद्धविरामको माग गर्दै आएको छ । रुसले पनि युद्धको समाधान चाहेको बताउँदै आएको छ । तर आफूले दाबी गरेका चार क्षेत्र युक्रेनले पूर्ण रूपमा छाड्नुपर्ने र युद्धका तथाकथित मूल कारणहरू समाधान हुनुपर्ने अडान उसको छ । यसैबिच, जेलेन्स्कीले रुसले आगामी महिना हुने संसदीय निर्वाचनलाई नयाँ सैन्य परिचालनको बहाना बनाउन सक्ने आरोप पनि लगाएका छन् । उनका अनुसार निर्वाचनपछि रुसले शरद ऋतुमा ठूलो संख्यामा सैनिक परिचालन गर्ने तयारी गरिरहेको छ । 

जेलेन्स्कीले निर्वाचनमार्फत रुसी नागरिकले युद्धलाई समर्थन गरेको देखाउने प्रयास गरिने र त्यसपछि वर्षको अन्त्यसम्ममा लाखौँ रुसी नागरिकलाई सैन्य सेवामा ल्याउने तयारी रहेको दाबी गरेका छन् । तर मस्कोका अधिकारीहरूले यसअघि नै थप सैन्य परिचालन आवश्यक नरहेको बताएका छन् ।