विश्व बजारमा कच्चा तेलको आपूर्तिमा उच्च कमी आउने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले यस वर्ष विश्व बजारमा कच्चा तेलको आपूर्ति दैनिक ४३ लाख ब्यारेलले घट्ने प्रक्षेपण गरेको हो।
यो विश्वको कुल तेल आपूर्तिको करिब ४ प्रतिशत हो। आईईएको पछिल्लो मासिक तेल बजार प्रतिवेदनअनुसार स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र बाब अल–मन्देब जलडमरूमार्फत निर्बाध रूपमा तेल तथा अन्य सामानको आवतजावत सुनिश्चित गर्ने सम्बन्धमा अझै सहमति हुन सकेको छैन। त्यसकारण एजेन्सीले वर्षको बाँकी अवधिका लागि तेल आपूर्तिको अनुमान पुनः घटाएको हो।
यसअघि जुलाईमा आईईएले विश्वव्यापी तेल आपूर्ति दैनिक ३७ लाख ब्यारेलले घट्ने अनुमान गरेको थियो। पछिल्लो प्रक्षेपणमा यो परिमाण बढेर ४३ लाख ब्यारेल पुगेको छ। आईईएका अनुसार आपूर्ति घटेसँगै विश्व बजारमा कुल तेल आपूर्ति दैनिक १० करोड २० लाख २० हजार ब्यारेलमा सीमित हुने अनुमान छ। यो आईईएले यस वर्षका लागि गरेको अहिलेसम्मकै सबैभन्दा न्यून आपूर्ति प्रक्षेपण हो। इरानमा जारी युद्ध र प्रमुख समुद्री व्यापारिक मार्गमा उत्पन्न अवरोधका कारण तेल बजारमा मागको तुलनामा आपूर्ति कमी हुने अवस्था अझ गम्भीर बन्न सक्ने आईईएको आकलन छ।
पश्चिम एसियामा जारी तनावका बीचमा इन्धन ओसारपसार हुने प्रमुख जलमार्ग स्ट्रेट अफ हर्मुज र बाब अल–मन्देब स्ट्रेटबाट इन्धन ढुवानीमा अवरोध उत्पन्न भइरहेको छ।