दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त

आप्रवासन आप्रवासन

 

बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थललाई उछिन्दै दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यात्रु आवागमनका आधारमा पहिलो पटक इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको हो ।

एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को प्रारम्भिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा इन्चोन विमानस्थलबाट ३ करोड ८४ लाख यात्रुले यात्रा गरेका छन् । सोही अवधिमा हिथ्रो विमानस्थलबाट ३ करोड ७७ लाख ९० हजार यात्रुले यात्रा गरेका छन् । तेस्रो स्थानमा सिंगापुरको चाङ्गी विमानस्थल रहेको छ । समीक्षा अवधिमा यो विमानस्थल भएर ३ करोड ४५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् 

पश्चिम एसियामा अमेरिका र इरानबिचको द्वन्द्वका कारण त्यहाँका प्रमुख हवाई केन्द्रबाट यात्रुहरू अन्य मार्गतर्फ मोडिँदा यात्रु सङ्ख्या बढेको इन्चोन विमानस्थलले जनाएको छ । यसअघि युरोप जाने क्रममा दुबई हुँदै यात्रा गर्ने केही यात्रुले पनि अहिले इन्चोनलाई ट्रान्जिट केन्द्रका रूपमा प्रयोग गर्न थालेका छन् । गत वर्षको सोही अवधिको तुलनामा इन्चोनका ट्रान्जिट यात्रुको सङ्ख्या १८ प्रतिशतले बढेको छ । युरोपलाई अन्तिम गन्तव्य बनाएका ट्रान्जिट यात्रु ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेका छन् । सन् २००१ मा सञ्चालनमा आएको इन्चोन विमानस्थलले अहिले १५८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ ।

यसको तुलनामा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले १३९, सांघाई पुडोङले ९२ र टोकियो नारिताले ८६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेका छन् ।