विवादित टापु क्षेत्रमा पुटिन गएपछि रिसायो जापान

आप्रवासन आप्रवासन

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रुसबिच लामो समयदेखि विवादमा रहेको कुरिल द्वीप समूहमध्येको एक द्वीप भ्रमण गरेपछि जापानले त्यसप्रति कडा विरोध गरेको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार इतुरुप द्वीपको भ्रमण गरेका थिए । भ्रमणका क्रममा पुटिनले द्वीपका स्थानीय बासिन्दासँग कुराकानी गर्नुका साथै माछाको अण्डाबाट बनेको परिकारको स्वाद लिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा एतोरोफु भनेर चिनिने यो द्वीप कुरिल द्वीपसमूहका चारवटा दक्षिणी द्वीपमध्ये एउटा हो । यी द्विपहरू जापान र रुस दुवैले आफ्नो दाबी गर्दै आएका छन् । ती द्वीपहरू ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानकै भूभाग भएको दाबी गर्दै पुटिनको भ्रमणप्रति जापान सरकारले कडा विरोध जनाएको जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले बताए । दुवै देशबिच कुरिल द्वीपलाई लिएर दशकौँदेखि विवाद चलिरहेको छ । यही विवादका कारण दोस्रो विश्वयुद्धपछि रुस र जापानबिच औपचारिक शान्ति सन्धि पनि हुन सकेको छैन ।

कुरिल द्वीपहरू जापानको उत्तरी होक्काइदो र रुसको कामचाट्का प्रायद्वीपबिच अवस्थित छन््। दक्षिणी चार द्वीपलाई जापानले उत्तरी क्षेत्र भनेर दाबी गर्छ । तर यी द्विप अहिले रुसको प्रशासनमा छन् । कुरिल द्वीपहरू सैन्य दृष्टिले रुसका लागि निकै महत्त्वपूर्ण छन् । इतुरुपमा यस क्षेत्रको प्रमुख सैन्य हवाई आधार छ । गत महिना चीन र रुसका नौसैनिक युद्धपोतहरूले संयुक्त गस्तीका क्रममा कुरिल द्वीपसमूहको एउटा स्ट्रेट पार गरेका थिए । दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत संघले यी द्वीपहरू कब्जा गरेर करिब १७ हजार जापानी बासिन्दालाई त्यहाँबाट विस्थापित गरेको थियो ।