अस्ट्रेलियाका ७ लाख ५६ हजार किशोर–किशोरीका सामाजिक सञ्जाल अकाउन्ट मेटाले हटाइदियो

आप्रवासन आप्रवासन

 

 फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर–किशोरीले प्रयोग गरेको आशङ्का गरिएका ७ लाख ५६ हजारभन्दा बढी अकाउन्ट हटाएको जनाएको छ । 

अस्ट्रेलियामा किशोरलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुनको कार्यान्वयन कडा बनाउने तयारी भइरहेका बेला मेटाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मेटाका अनुसार गत डिसेम्बरमा सामाजिक सञ्जालसम्बन्धी प्रतिबन्ध लागू हुनुअघिदेखि जुनसम्ममा ४ लाख ६२ हजार इन्स्टाग्राम र २ लाख ९४ हजार फेसबुक अकाउन्ट निष्क्रिय पारिएका छन् । यसअघि जनवरीसम्ममा कम्पनीले ३ लाख ३१ हजार इन्स्टाग्राम र १ लाख ७३ हजार फेसबुक अकाउन्ट हटाएको जनाएको थियो । पछिल्लो तथ्यांकले हटाइएका अकाउन्टको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखाएको छ ।

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानुन डिसेम्बर १० देखि लागू भएको थियो । बालबालिका तथा किशोरको शारीरिक र मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्न सक्ने असरबारे चिन्ता बढेपछि सरकारले यस्तो कानुन ल्याएको हो । मेटासहित सामाजिक सञ्जाल कम्पनीहरूले सुरुदेखि नै उक्त कानुनको विरोध गर्दै आएका छन् । तर अहिले मेटाले कानुन पालना गर्ने प्रतिबद्धता जनाउँदै थप कारबाही जारी राख्ने बताएको छ । ‘कानुन कार्यान्वयनको प्रक्रिया जारी छ र यी सङ्ख्या अझै बढ्नेछन्,’ मेटाले विज्ञप्तिमा भनेको छ ।

कम्पनीले अस्ट्रेलिया सरकारसँग युवालाई सुरक्षित र उमेरअनुकूल अनलाइन पहुँच सुनिश्चित गर्ने उद्देश्यमा आफूहरू सहमत रहेको तथा कानुनअन्तर्गतका दायित्व पूरा गरिरहेको पनि जनाएको छ । तर अस्ट्रेलियाको इन्टरनेट नियामकले सामाजिक सञ्जाल कम्पनीहरूले कानुन पालना गर्न पर्याप्त कदम नचालेको ठहर गर्दै उनीहरूविरुद्ध थप कडा कानुनी कारबाहीको तयारी गरिरहेको छ ।

मेटाले सार्वजनिक गरेको अवधिसँग मिल्ने तथ्याङ्क अन्य सामाजिक सञ्जाल कम्पनीले सार्वजनिक गरेका छैनन् । तर अस्ट्रेलिया सरकारका तथ्याङ्क र विभिन्न स्वतन्त्र अध्ययनले प्रतिबन्ध लागू भएको पहिलो तीन महिना बितिसक्दा पनि १६ वर्षभन्दा कम उमेरका ८० प्रतिशतभन्दा बढी किशोर सामाजिक सञ्जालमा सक्रिय रहेको देखाएका छन् ।

अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल कम्पनीहरूले प्रतिबन्ध असफल हुने गरी जानाजानी व्यवस्था गरिरहेको पनि आरोप लगाएको छ । उसले सरकारी प्रतिबन्धको पालना नगरेमा अधिकतम जरिवाना दोब्बर बनाएर ९ करोड ९० लाख अस्ट्रेलियन डलर पुर्‍याउने कानुन पनि ल्याएको छ । त्यसैगरि, नियामकलाई कम्पनीका कागजात जफत गर्ने थप अधिकारसमेत दिइएको छ ।

शुक्रबार संसदीय सुनुवाइ

मेटा, टिकटक, गुगलको स्वामित्वमा रहेको युट्युब र स्न्यापच्याटका प्रतिनिधिले शुक्रबार हुने संसदीय छानबिनमा बयान दिने कार्यक्रम छ । सरकारी तथा नियामक निकायका अधिकारीहरूले पनि छानबिन समितिसामु आफ्नो धारणा राख्नेछन् ।

यसैबिच, सन् २०२५ मा अस्ट्रेलियामा गरिएको एक परीक्षणले परीक्षणले बजारमा उपलब्ध उमेर पहिचान गर्ने प्रविधिले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्न प्रभावकारी रूपमा सहयोग गर्न सक्ने देखाएको थियो । अहिले मेटासहित अधिकांश ठुला सामाजिक सञ्जाल कम्पनीले फोटोमा आधारित उमेर अनुमान गर्ने प्रविधि प्रयोगमा ल्याएका छन् । कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनुमान गर्न उनीहरूको अनलाइन गतिविधि र अन्य विवरणको विश्लेषण पनि गर्ने गरेका छन् ।

मेटाले प्रयोगकर्ताको प्रोफाइलमा जन्मदिन मनाएको विवरण, विद्यालयको कक्षा वा ग्रेडसम्बन्धी उल्लेख जस्ता संकेत खोज्न एआई प्रयोग गरिरहेको जनाएको छ । शंकास्पद नाबालिग खाताबारे आएका रिपोर्टको पनि एआईमार्फत विश्लेषण गरिने कम्पनीले बताएको छ ।

मेटाले हटाइएको खाता पुनः खोल्न प्रयोगकर्ताले पटक–पटक प्रयास गर्न सक्ने सुविधा पनि हटाएको जनाएको छ ।

अस्ट्रेलियाको यो कदमपछि विश्वका अन्य देशले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका छन् । त्यसो त अहिले किशोरकिशोरीलाई सामाजिक सञ्जालको लत लाग्ने गरी सामाग्री निर्माण गरेको भन्दै अमेरिकाका २९ राज्यले समेत मेटा विरुद्ध मुद्दा दायर गरेका छन् ।