मानवीय हस्तक्षेपबिनै ताइवानमा ठुलो साइबर आक्रमण

आप्रवासन आप्रवासन

 

कृत्रिम बौद्धिकता (एआई) ले ठूलो फड्को मारेसँगै यसको दुरुपयोगका घटनाहरू बढ्दै गएका छन्। 

ह्याकरहरूले ताइवानमा साइबर आक्रमण गर्न स्वचालित एआई प्रणाली प्रयोग गरेको खुलासा भएको छ। सरकारी एजेन्सीहरूमाथि भएको यो पहिलो ज्ञात पूर्ण स्वचालित आक्रमण भएको विज्ञहरूले बताएका छन्।

आक्रमण पहिलो पटक पत्ता लगाउने इजरायली एआई कम्पनी ‘ड्रीम’ का अनुसार जुलाईमा चार दिनभन्दा बढी समयमा एआई एजेन्टहरूले २१ वटा सरकारी प्रणालीको खाका तयार पारेका थिए। उनीहरूले सरकारका ८५ वटा युजर खाता क्र्याक गरी २ हजार ५०० कर्मचारीको रेकर्डहरूसमेत निकाल्न सफल भएका थिए।

ह्याकरहरू चीनका भएको आशंका गरिए पनि ताइवान वा ड्रीम दुवैले जुलाईमा भएको आक्रमण ठ्याक्कै त्यही ठाउँबाट भएको हो भनेर पुष्टि गरेका छैनन्। ताइवानको डिजिटल मामिला मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणहरू विदेशबाट सुरु भएको अनुसन्धानले स्पष्ट रूपमा देखाएको छ। यसमा हाइब्रिड दृष्टिकोण समावेश थियो, जसमा ह्याकरहरूले परम्परागत कामलाई ओपनक्ल जस्ता एआई एजेन्टहरूसँग संयोजन गरेका थिए।’

ह्याकिङ स्वचालित होस् र समन्वय गर्न सहज होस् भनेर ह्याकरहरूको प्रणाली खुला-स्रोत (ओपन-सोर्स) एआई एजेन्टमा आधारित रहेर बनाइएको ड्रीमको भनाइ छ। अनधिकृत काममा उन्नत एआई मोडेलहरू संलग्न भएको घटना बढिरहँदा यो आक्रमण भएको हो।

सरकारविरुद्ध पूर्ण रूपमा स्वचालित आक्रमणबारे सार्वजनिक गरिएको यो पहिलो घटना भएको ताइवान नेटवर्क सूचना केन्द्रका अध्यक्ष केनी हुआङले बताएका छन्। साइबर आक्रमणमा कोड लेख्न र कमजोरीहरू खोज्न एआई प्रयोग गर्नु सामान्य भइसके पनि यो घटना त्यो भन्दा धेरै अघि बढेर भएको उनले जनाए। यस घटनामा एउटा स्वायत्त प्रणालीले आठ वटा एआई एजेन्टहरूबीच तालमेल मिलाएर मान्छेको हस्तक्षेपबिनै घुसपैठ गरेको र त्यसपछिका निर्णय आफैँ लिएर ह्याकिङ सम्पन्न गरेको थाहा भएको छ।

ड्रीमको ब्लग पोस्टमा भनिएको छ, ‘यसले एउटा कुरा ठूलो स्वरमा स्पष्ट पारेको छ, दक्षतापूर्वक ह्याकिङ गर्न लाग्ने खर्च ह्वात्तै घटेको छ। तर यस्तो आक्रमण रोक्ने लागत फिटिक्कै घटेको छैन।’ ड्रिमका प्रमुख व्यवसाय र रणनीति अधिकारी अमीर बेकरले भने, ‘मानव टोली जस्तै, जब कुनै दृष्टिकोण अवरुद्ध हुन्छ, यसले वास्तविक समयमै नयाँ प्रविधिहरूबारे अनुसन्धान गर्छ र सोही अनुसार अनुकूलन गर्छ। यो यस्तो आक्रमणकारी हो, जसले आफैँ रणनीति बनाउँछ, सिक्छ र सोही अनुसार आफूलाई समायोजन गर्छ।’

आक्रमणको निशानामा ताइवानको आणविक सुरक्षा एजेन्सी, सरकारका आईटी विक्रेताहरू तथा कम्तीमा सात अन्य ऊर्जा क्षेत्रका कम्पनीहरू परेका थिए। एआई एजेन्टहरूले छिटोछिटो विभिन्न ह्याकिङ प्रविधिहरू प्रयोग गरी माध्यमिक प्रणालीमा भएका कमीकमजोरीहरूको शोषण गर्न सकेकाले आक्रमणहरू छिटो, सस्तो र व्यापक स्तरमा भएको ताइवानको डिजिटल मामिला मन्त्रालयले जनाएको छ।

ह्याकसँग जोडिएका आन्तरिक कागजातहरूमा सरलीकृत चिनियाँ भाषाको प्रयोग भएकाले संलग्न व्यक्ति चीनसँग जोडिएको आशङ्का गरिएको छ। सीएनएनले सोधेको प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालय परिस्थितिबाट परिचित नभएको बताएका थिए। ताइवानमाथि चीनबाट गत वर्ष प्रतिदिन औसत २६ लाख साइबर आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको थियो। यो सन् २०२४ को तुलनामा ६ प्रतिशतले बढी हो।