पूर्वी जापानमा मुसलधारे वर्षाका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ। राजधानी टोकियोनजिकै रहेको चिबा प्रिफेक्चरमा अत्यधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्नुका साथै हजारौँ मानिस प्रभावित भएका छन्।
बाढीमा डुबेको कारभित्रै एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अन्य दुई जनाको सडकमा ढलेपछि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा कम्तीमा पाँच जना घाइते भएको रिपोर्टसमेत आएको छ।
पछिल्लो वर्षालाई ‘अभूतपूर्व’ भन्दै अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बिहीबार चिबाका स्थानीय अधिकारीहरूले भारी वर्षाका कारण सबैभन्दा उच्च अर्थात् पाँचौँ तहको आपत्कालीन चेतावनी जारी गरेका थिए। शुक्रबार बिहान उक्त चेतावनीलाई चौथो तहमा झारिए पनि बाढी र पहिरोको जोखिम अझै उच्च रहेको अधिकारीहरूले बताएका छन्।
बिहीबार दिउँसोदेखि चिबाका विभिन्न क्षेत्रमा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अगस्ट महिनामा सामान्यतया हुने औसत वर्षाको तुलनामा यो निकै ठूलो हो। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार पूर्वी क्षेत्रमा प्रवेश गरेको तातो तथा अत्यधिक आर्द्र हावा र माथिल्लो वायुमण्डलमा रहेको चिसो हावा एकआपसमा मिसिएपछि उत्पन्न भएको अत्यन्त अस्थिर मौसमी अवस्थाका कारण यो वर्षा भएको हो।
मौसमविद्हरूका अनुसार यस्तो अवस्थामा छोटो समयमै अत्यधिक पानी पर्ने सम्भावना रहन्छ। शुक्रबार अबेरसम्म पनि भारी वर्षा जारी रहने पूर्वानुमान छ। चिबाका गभर्नर तोशिहितो कुमागाईले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जापानको लामो विपद् इतिहासका बाबजुद आफूले यस्तो अवस्था कहिल्यै अनुभव नगरेको बताए। जापानको ऐतिहासिक मौसम अवस्थाको तुलनामा समेत यो अत्यन्त असामान्य घटना भएको उनले जनाए।