पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि सडक अवरुद्ध हुनुका साथै पहिरो गएपछि करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । शनिबार बिहान पूर्वी नुसा तेङ्गारा प्रान्तमा भूकम्प गएको थियो । यसमा अरु ३६ जना गम्भीर घाइते भएको र ७७ जनालाई सामान्य चोट लागेको बताइएको छ । भूकम्पपछि करिब ३४१ वटा परकम्प पनि गइसकेको छ ।
यो इन्डोनेसियामा आएको २०२२ यताकै शक्तिशाली भूकम्प हो । सबैभन्दा बढी प्रभावित सिक्का क्षेत्रमा ३ हजार ३०० भन्दा बढी मानिसले घर छाडेर खेलकुद मैदान वा अन्य खुला स्थानमा आश्रय लिन बाध्य भएका छन् । धेरै घर भत्किएकोले मानिसहरू पाल र त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । भूकम्पपछि गएको पहिरोले माउमेरेलगायतका क्षेत्रमा सडक अवरुद्ध गरेको थियो। उद्धारकर्मीहरूले पहिरोले अवरुद्ध केही क्षेत्रमा पुग्न सफल भएका छन् ।
प्रारम्भिक विवरणअनुसार १ हजार ३०० भन्दा बढी घरमा क्षति पुगेको छ र केही मानिस भग्नावशेषमुनि फसेका हुन सक्ने आशंका गरिएको छ । सरकारले उद्धार तथा राहतका लागि ३ हजार ५०० भन्दा बढी सैनिक र प्रहरी परिचालन गरेको छ । विद्युत् आपूर्ति अवरुद्ध भएकोले २० वटा पेट्रोल पम्प सञ्चालनमा आउन सकेका छैनन् ।