नेटोको हवाई निगरानी अभियानमा खटिएको स्पेनी एफ–१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार यो वर्ष रोमानियाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चौथो मानवरहित विमान खसालेको हो । रोमानिया युक्रेनसँग ६१४ किलोमिटर लामो सीमा जोडिएको नाटो सदस्य राष्ट्र हो । रुस–युक्रेन युद्ध सुरु भएयता रुसी ड्रोन पटक–पटक रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेका छन् ।
रोमानियाली रडारले उक्त ड्रोन छिमेकी मोल्डोभाबाट देशको हवाई क्षेत्रमा प्रवेश गरेको पत्ता लगाएको थियो । ड्रोन रोमानियाको दक्षिण–पूर्वी सहर गालातीबाट करिब २४ किलोमिटर उत्तरतर्फबाट प्रवेश गरेको मन्त्रालयले जनाएको छ। तर ड्रोन कुन देशको थियो भन्नेबारे मन्त्रालयले तत्काल कुनै जानकारी दिएको छैन । नेटोको हवाई निगरानी अभियानअन्तर्गत खटिएको एफ–१८ विमानले ड्रोनसँग रडार सम्पर्क कायम गरेपछि त्यसलाई खसाल्न अनुमति पाएको थियो । मन्त्रालयका अनुसार स्थानीय समयअनुसार बिहान ५ः०१ बजे ड्रोन खसालिएको थियो ।
ड्रोनका टुक्राहरू दुई गाउँबिचको निर्जन क्षेत्रमा खसेको र घटनाबाट सर्वसाधारणलाई क्षति नपुगेको बताइएको छ । यसअघि जुलाईमा रोमानियाका एफ–१६ लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन रुसी ड्रोन खसालेका थिए। युक्रेनमा रुसले आक्रमण सुरु गरेयता रोमानियाले दर्जनौँ पटक आफ्नो हवाई क्षेत्रमा ड्रोन प्रवेश गरेको घटना सामना गरेको छ। यसै वर्षको सुरुआतमा छिमेकी युक्रेनमाथि भएको रुसी ड्रोन आक्रमणका क्रममा एउटा रुसी ड्रोन गालाती सहरको आवासीय भवनमा खसेको थियो। उक्त घटनामा दुई जना घाइते भएका थिए।