इरानसँगको लामो सैन्य सङ्घर्षका कारण अमेरिकी नौसेनामाथि दबाब बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा सैन्य कारबाहीलाई प्राथमिकता दिइरहेका बेला अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो अन्तिम प्रमुख विमानवाहक युद्धपोत पनि पश्चिम एसियातर्फ पठाउने तयारी गरेको छ ।
प्रशान्त क्षेत्रबाट निस्किएर यूएसएस जर्ज वासिङ्टनले पश्चिम एसियामा यूएसएस अब्राहम लिङ्कनलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । लामो समयदेखि समुद्रमा तैनाथ लिङ्कनका चालक दलमा थकान, मानसिक स्वास्थ्य र आपूर्तिसम्बन्धी समस्या बढेपछि उसको तैनाथी अवधि समेत लम्ब्याइएको छ ।
यससँगै केही समयका लागि पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत नहुने अवस्था देखिएको छ । अमेरिकी नौसेनाले आगामी महिनामा अर्को विमानवाहक युद्धपोत पठाएमा यो अवस्था छोटो समयमै बदलिन सक्छ । अमेरिकाको ध्यान पश्चिम एसिया र पश्चिमी गोलार्धतर्फ केन्द्रित हुँदा चीनले पश्चिमी प्रशान्तमा आफ्नो प्रभाव विस्तार गर्न थप अवसर पाउन सक्ने सुरक्षा विश्लेषकहरूले बताइरहेका छन् ।
चीनले यसै साता इन्डोनेसियासँग नौसैनिक अभ्यास गरेको छ भने जापान र फिलिपिन्ससँगको विवादमा पनि पछिल्लो समय कडा गतिविधि देखाएको छ । यसै महिनामा चीनले दक्षिण चीन सागरको स्कारबोरो शोल नजिक सैन्य अभ्यास गरेको थियो । जापानको दक्षिणी क्षेत्रमा पनि चिनियाँ युद्धपोतले गत महिना प्रत्यक्ष फायर अभ्यास गरेको थियो । यद्यपि, अमेरिकी विमानवाहक युद्धपोत प्रशान्त क्षेत्रबाट हट्दैमा चीनले तत्काल ताइवानमाथि आक्रमण गर्ने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ । तर अमेरिकी युद्धपोतको अनुपस्थितिले चीनलाई आफ्नो सैन्य क्षमता प्रदर्शन गर्ने अवसर भने दिन सक्ने उनीहरूको आकलन छ ।
अमेरिकी सहयोगीहरूका लागि विमानवाहक युद्धपोतको उपस्थिति सैन्य शक्तिको मात्र होइन, मनोवैज्ञानिक सुरक्षाको प्रतीकसमेत हो । त्यसैले प्रशान्त क्षेत्रमा अमेरिकी विमानवाहक नहुनुले जापान, फिलिपिन्सलगायतका साझेदार मुलुकमा अमेरिकाको ध्यान पश्चिम एसियातर्फ अत्यधिक मोडिएको सन्देश जान सक्ने चिन्ता छ ।
युद्धले अमेरिकी नौसेनामाथि बढायो दबाब
ट्रम्प प्रशासनले आफ्नो दोस्रो कार्यकालमा सैन्य अभियानका लागि विमानवाहक युद्धपोतमा ठुलो भर पर्दै आएको छ । यूएसएस जेराल्ड आर.फोर्डले पनि ११ महिनाको तैनाथी पूरा गरेर मे महिनाको मध्यतिर स्वदेश फर्किएको थियो । यो भियतनाम युद्धपछि अमेरिकी विमानवाहकको सबैभन्दा लामो तैनाथीमध्ये एक थियो ।
त्यस्तै, यूएसएस अब्राहम लिङ्कनले २४० दिनभन्दा बढी लगातार समुद्रमा बिताएको बताइएको छ । लामो तैनाथीले चालक दलको आराम र मानसिक स्वास्थ्यमा असर पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकी नौसेनासँग कुल ११ वटा विमानवाहक युद्धपोत छन् र सामान्य अवस्थामा एक पटकमा दुई वा तीन वटा तैनाथ गरिन्छन् । तर इरान युद्ध लम्बिँदै गएमा थप जहाज परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ ।