दक्षिणी लेबनानमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएको दाबी इजरायली सेनाले गरेको छ । इजरायली सेनाका अनुसार अबु हसन अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए ।
इजरायली सेनाले आइतबार जारी गरेको विवरणअनुसार अलाले दक्षिणी लेबनानमा इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रयोग गरी गरिएका आक्रमणमा पनि भूमिका खेलेका थिए । यसअघि शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । मृतकमध्ये महिला र बालबालिका पनि रहेको बताइएको छ ।
आक्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले हिजबुल्लाहमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । उनका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहको आक्रमणमा तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए । त्यसको जवाफमा इजरायली सेनाले हिजबुल्लाहको विशेष रदवान फोर्सको मुख्यालयलाई निशाना बनाएको बताएको थियो । शनिबारको आक्रमणमा हिजबुल्लाहका एक बटालियन कमान्डरसहित अन्य केही व्यक्ति मारिएको इजरायली सेनाले दाबी गरेको थियो ।