गाजामा रोकिएको शान्ति योजना अघि बढाउन ट्रम्पका ज्वाईंले भेटे नेतन्याहुलाई

आप्रवासन आप्रवासन

 

रोक्का रहेको गाजा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको शान्ति योजना अघि बढाउने प्रयासस्वरूप अमेरिकी विशेष दूत तथा ट्रम्पका ज्वाईं जारेड कुशनरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन् ।

कुशनरले यसअघि आइतबार इजिप्टको एल अलामेनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग दुर्लभ भेटवार्ता गरेका थिए । यस बैठकमा अमेरिकी समर्थित बोर्ड अफ पिसका निर्देशक निकोलाय म्लादेनोभ पनि सहभागी थिए ।

बैठकको उद्देश्य युद्धविराम योजनालाई ठोस र प्रमाणित गर्न सकिने कदममा रूपान्तरण गर्नु रहेको बताइएको छ । यसमा हमासको निशस्त्रीकरण, गाजाबाट इजरायली सेनाको फिर्ती र पुनर्निर्माणको सुरुवातलगायत विषय समावेश छन् । हमासले निशस्त्रीकरणसम्बन्धी योजनामा सहमति जनाएको छ । तर त्यसका लागि इजरायलले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने उसको भनाइ छ । 

हमासले विशेषगरी गाजामाथि भइरहेका लगभग दैनिक आक्रमण रोक्नुपर्ने र इजरायली सेनाले गाजाबाट फिर्ता हुन थाल्नुपर्ने माग गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिनाको अन्त्यमा प्रस्तुत गरिएको १५ बुँदे योजनालाई ठुलो सफलताका रूपमा प्रस्तुत गरेका थिए । तर इजरायली प्रधानमन्त्री नेतान्याहुले उक्त योजनालाई सार्वजनिक रूपमा अस्वीकार गरेपछि सम्झौताको भविष्य अनिश्चित बनेको छ ।

आइतबार इजिप्ट र कतारसहित केही अरब तथा मुस्लिम देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले शान्ति योजना अस्वीकार गरेकोमा आलोचना गरेका छन् । ‘यस्तो अस्वीकृतिले गाजा र बाँकी कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा शान्ति स्थापना गर्ने प्रयासमा अवरोध पुर्‍याउने जिम्मेवारी अब इजरायलको हो भन्ने पुष्टि गर्छ,’ विज्ञप्तिमा उनीहरूले भनेका छन् ।