सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

आप्रवासन आप्रवासन

 

 सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ।

ओसीएचएका अनुसार विश्वभर ३५० सहायताकर्मी मारिएका र सबैभन्दा बढी गाजा र सुडानमा मारिएका छन्। संयुक्त राष्ट्रसङ्घले सोमबार मानवतावादीमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ।

यो मृत्यु सङ्ख्या भने सन् २०२४ को ३७७ भन्दा केही कम हो। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले विश्व मानवतावादी दिवसको अवसरमा अनुसन्धान र सल्लाहकार समूह ह्युम्यानिटेरियन आउटकम्सका तथ्यांक उल्लेख गर्दै यो विवरण दिएको छ। गत बर्ष सबैभन्दा धेरै गाजामा १८६ सहायताकर्मी मारिएका छन्। यो सहायताकर्मीका लागि लगातार तेस्रो वर्ष सबैभन्दा घातक ठाउँ बनेको छ । त्यसपछि सुडानमा ७१ जना सहायताकर्मीको मृत्यु भएको छ।

“केवल तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएका छन् र यो पूर्ण रूपमा अस्वीकार्य छ,” मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले वक्तव्यमा भनेका छन्। उनले भने, “यसलाई औँल्याउँदैमा अर्को सहायताकर्मीको सुरक्षा हुँदैन। राज्यहरूले अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्नुपर्छ र नागरिक तथा हाम्रा सहकर्मीहरूको सुरक्षाका लागि हरेक साधन प्रयोग गर्नुपर्छ । नियम तोड्नेहरूले वास्तविक कानुनी भागिदार हुनुपर्छ।”

सन् २०२६ को सुरुदेखि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ घाइते र ३९ अपहरण गरिएका छन्। ओसीएचएले सशस्त्र ड्रोनको व्यापक प्रयोगप्रति विशेष चिन्ता व्यक्त गरेको छ । ड्रोनले ‘घातक शक्ति अझ धेरै हातमा पुर्‍याउँदै शहर र नगरमा विस्फोटक हतियार पठाइरहेको छ।’

सुडानमा सन् २०२६ का पहिला चार महिनामा सशस्त्र ड्रोनले नागरिक मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ जसले बजार र स्वास्थ्य सुविधामा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ । रूस–युक्रेन युद्धमा पनि ड्रोन आक्रमणबाट हताहत भएको उल्लेख गरिएको छ। “हतियारयुक्त ड्रोन नागरिक जीवनको जानाजान वा लापरवाहीपूर्ण विनाश बनेका छन् अर्थात् खतराको नयाँ रूप बनेका छन्,” फ्लेचरले भने।