रुसभित्र आक्रमण गर्न बेलायती ड्रोन प्रयोग, मस्कोले दियो बेलायतलाई कडा चेतावनी

आप्रवासन आप्रवासन

 

 युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्र प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो। 

लन्डनस्थित रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा ‘सहयोगी र सह-अपराधी’ को भूमिका निर्वाह गरेको आरोप लगाएको छ। बेलायतले द्वन्द्वलाई जानाजानी थप चर्काउने बाटो रोजेको दूतावासको ठहर छ। दूतावासले जारी गरेको विज्ञप्तिमा बेलायतको संलग्नता र किएभको ‘आतङ्कवादी संयन्त्र’ लाई दिइने समर्थन बढ्दै गए त्यसको मूल्य पनि बढ्दै जाने उल्लेख छ।

सन्डे टाइम्सका अनुसार ड्रोन उत्पादनमा संलग्न दुई कम्पनीमध्ये एउटा बेलायती रक्षा कम्पनी बीएई सिस्टम्सको सहायक कम्पनी हो। सुरक्षा कारण देखाउँदै अखबारले अर्को कम्पनीको नाम भने गोप्य राखेको छ। बेलायतको रक्षा मन्त्रालयले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता बेलायत किएभको प्रमुख समर्थकमध्ये एक रहँदै आएको छ। बेलायतले युक्रेनलाई हालसम्म करिब २५ अर्ब पाउन्ड अर्थात् ३३ अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसमा करिब १६ अर्ब पाउन्ड सैन्य सहायता मात्रै रहेको छ।

युक्रेनले पछिल्ला महिनाहरूमा रुसी भूभागभित्र लामो दूरीका ड्रोन तथा अन्य हतियारमार्फत आक्रमण तीव्र पारेको छ। यस्ता आक्रमणले रुसको सैन्य तथा औद्योगिक पूर्वाधारलाई लक्षित गर्दै आएको छ। यसको जवाफमा रुसले पनि युक्रेनमाथि हवाई हमला बढाउँदै लगेको छ। विशेष गरी राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण पछिल्लो समय तीव्र बनेको छ।

बेलायत निर्मित ड्रोन रुसी भूभागमा प्रयोग भएको विषयले पश्चिमी मुलुकको सैन्य सहयोग र त्यसले द्वन्द्वमा पार्ने प्रभावबारे नयाँ विवाद जन्माएको छ। मस्कोले पश्चिमी मुलुकको सैन्य सहयोगलाई आफूविरुद्धको प्रत्यक्ष संलग्नताका रूपमा व्याख्या गर्दै आएको छ। बेलायतलगायत युक्रेनका समर्थक राष्ट्रहरूले भने रुसी आक्रमणविरुद्ध किएभलाई सहयोग गर्नु आवश्यक रहेको बताउँदै आएका छन्।

रुसी दूतावासको पछिल्लो चेतावनीले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने बेलायत र रुसबीचको तनाव थप बढाउने सङ्केत गरेको छ।