इटालीको संग्रहालयबाट रेनेसाकालीन करोड डलरमाथिका चार पेन्टिङ चोरी

आप्रवासन आप्रवासन

 

इटालीको सिसिलीस्थित मेसिना सहरको क्षेत्रीय संग्रहालयबाट पुनर्जागरण (रेनेसा)कालीन चित्रकार एन्टोनेलो दा मेसिनासँग सम्बन्धित चारवटा महत्त्वपूर्ण कलाकृति चोरी भएका छन् । इटालीको प्रमुख गर्मी बिदा ‘फेरागोस्तो’का क्रममा शनिबार राति चोरहरूले संग्रहालयको सुरक्षा तथा साइरन प्रणालीलाई छल्दै ती कलाकृति लगेका हुन् ।

चोरी भएका कलाकृतिमा सन् १४७३ मा तयार गरिएको ‘सान ग्रेगोरियो पोलिप्टिक’ का बाँकी रहेका पाँच प्यानलमध्ये तीनवटा र भर्जिन मेरी तथा मृत येशू ख्रीष्टलाई चित्रण गरिएको ‘पिएता’को दुवै प्यानल छन् । पिएता सुरक्षित प्रदर्शन सोकेसबाटै निकालिएको बताइएको छ ।

मेसिनास्थित म्युजे संग्रहालयकी निर्देशक मारिसा मक्र्युरियोले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै चोरी भएका कलाकृति संग्रहालय, मेसिना सहर, स्थानीय समुदाय र सम्पूर्ण कला संसारका लागि ठुलो क्षति भएको बताइन् । उनका अनुसार चोरी राति करिब १० बजेअघि भएको थियो । उनले यी कलाकृतिलाई सिसिलीको सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको सम्पदा भएको बताइन् ।

‘मेसिनाको पहिचानमै ठुलो क्षति’

मेसिनाका संस्कृति अधिकारी एन्जो कारुसोले चोरीलाई सामान्य क्षतिभन्दा पनि ‘विपत्ति’को संज्ञा दिएका छन् । उनले प्रसिद्ध चित्रकार एन्टोनेलो दा मेसिनाका कृतिविना मेसिना युरोपेली पुनर्जागरणका महान् कलाकारमध्ये एकको महत्वपूर्ण विरासतबाट वञ्चित हुने बताए । उनले चोरी भएका कलाकृति तत्काल फिर्ता ल्याउन आग्रह गरेका छन् ।

एन्टोनेलो दा मेसिनाको कलाप्रति अन्तर्राष्ट्रिय चासो पछिल्लो समय अझ बढेको छ । यसै वर्ष इटालीको संस्कृति मन्त्रालयले न्यूयोर्कस्थित सोथबीजमार्फत उनको धार्मिक चित्र ‘एक्से होमो’ करिब १ करोड ४९ लाख डलरमा खरिद गरेको थियो ।

चोरलाई बेच्न कठिन

कला अपराधसम्बन्धी अनुसन्धानकर्ता लिन्डा अल्बर्टसनले चोरी भएका कलाकृति अत्यन्तै प्रसिद्ध र सहजै पहिचान गर्न सकिने भएकाले तिनलाई वैध कला बजारमा बेच्न चोरहरूलाई निकै कठिन हुने बताइन् । उनका अनुसार सामान्य चोरले यस्ता कलाकृति चोरी गर्नु सजिलो ठान्न सक्छन्, तर त्यसपछि तिनलाई बिक्री गर्न ठुलो समस्या उत्पन्न हुन्छ । प्रसिद्ध कलाकृति आपराधिक समूहहरूबीच एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्ने र अन्य गैरकानुनी गतिविधिका लागि धितोका रूपमा प्रयोग हुने जोखिमसमेत रहेको उनले बताइन् ।

चोरीपछि संग्रहालय आइतबार बन्द गरिएको थियो । अनुसन्धानकर्ताहरूले घटनास्थलबाट प्रमाण संकलन थालेका छन् । चोरीमा संलग्न व्यक्तिको पहिचान तथा उनीहरूले सुरक्षा प्रणाली कसरी पार गरे भन्नेबारे अनुसन्धान भइरहेको छ । 

यो घटना इटालीमा कला चोरीसम्बन्धी अर्को ठुलो घटनाको केही दिनपछि भएको हो । उत्तरी इटालीको पर्मामा प्रहरीले केही दिनअघि रेनोआर, सेजान र मातीसका चोरी भएका तीनवटा कलाकृति बरामद गरेको घोषणा गरेको थियो । ती कलाकृतिको मूल्य करिब १ करोड १५ लाख डलर रहेको बताइएको छ ।

ती कलाकृति मार्च २२–२३ मा पर्मा प्रान्तस्थित म्याग्नानी रोक्का फाउन्डेसनबाट चोरी भएका थिए । घटनामा पाँच जनालाई हिरासतमा लिइएको थियो । सिसिलीको संग्रहालयबाट भएको पछिल्लो चोरीले भने इटालीको अमूल्य कला तथा सांस्कृतिक सम्पदाको सुरक्षा फेरि चर्चामा ल्याएको छ । विशेषगरी पुनर्जागरणकालीन विश्वप्रसिद्ध कलाकारका कृतिहरू चोरी हुँदा तिनको आर्थिक मूल्यसँगै ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको महत्व पनि ठुलो हुने भएकाले तत्काल बरामद गर्नुपर्ने चुनौती अनुसन्धानकर्तासामु छ ।