लखनउ । भारतको उत्तर प्रदेशको लखनउस्थित पारामा अवैध डेरीविरुद्ध कारबाही गर्न पुगेको नगर निमन र प्रहरीको संयुक्त टोलीमाथि आक्रमण भएको छ । घटनामा बुद्धेश्वर चौकीका इन्चार्ज प्रहरी उपनिरीक्षक विनय पटेलमाथि फलामे साङ्लोले समेत प्रहार गरिएको आरोप छ । घटनामा प्रहरी र नगर निगमका कर्मचारी घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई महिलालाई पक्राउ गरी जेल पठाएको छ । घटनामा नाम तोकिएका १२ र अज्ञात १२ गरी कुल २४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्य आरोपीको खोजी भइरहेको छ भने घटनास्थल आसपासका सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ ।
ढुंगामुढापछि प्रहरीमाथि आक्रमण
आइतबार नगर निगमको जोन–६ टोली प्रहरीको सहयोगमा पारामा सञ्चालित अवैध डेरीविरुद्ध कारबाही गर्न पुगेको थियो । कारबाही सुरु गरेपछि केही व्यक्तिले विरोध गर्दै टोलीमाथि ढुंगामुढा गरेको नगर निगमका पशु कल्याण अधिकारी डा. अभिनव वर्माले बताएका छन् । प्रहरीका अनुसार आक्रमणकारीहरूले प्रहरी उपनिरीक्षक पटेललाई लखेटेर कुटपिट गरेका थिए । उनीमाथि फलामे साङ्लोले समेत प्रहार गरिएको आरोप छ । कुटपिटका क्रममा उनको वर्दी च्यातिएको र उनी हिलोमा लडेका थिए । उनको टाउकोमा छ टाँका लगाइएको बताइएको छ ।
आक्रमणमा नगर निगमका तीन कर्मचारी अवधेश कुमार, अभिनव र फुरकान पनि घाइते भएका छन् । आक्रमणकारीले नगर निगमका सरकारी सवारीसाधनका सिसासमेत फुटाएका थिए । घटनापछि चौकी इन्चार्ज र नगर निगमको तर्फबाट पार प्रहरी थानामा छुट्टाछुट्टै उजुरी दिइएको थियो ।
२०० भैंसी नियन्त्रणमा
नगर निगमको पशु नियन्त्रण टोलीमाथि आक्रमण भएपछि प्रशासनले कारबाहीलाई थप कडा बनाएको छ । मंगलबार नगर निगमको टोलीसँगै तीन प्रहरी चौकीको बल र एक कम्पनी पीएसी परिचालन गरिएको थियो ।
ठुलो संख्यामा सुरक्षाकर्मी हेल्मेट र बुलेटप्रुफ ज्याकेटसहित परिचालन गरिएको अवस्थामा नगर निगमले पाराका चार वटा बस्तीबाट करिब २०० भैंसी नियन्त्रणमा लिएको जनाएको छ ।
नगर निगमका अधिकारीहरूका अनुसार भारी सुरक्षाबिच अवैध डेरीविरुद्धको अभियानलाई निरन्तरता दिइएको हो ।
घटनापछि लखनउकी मेयर सुषमा खर्कवाल र नगर आयुक्त गौरव कुमारले घटनास्थल पुगेर अवस्थाको निरीक्षण गरेका थिए । मेयर खर्कवालले प्रहरी र नगर निगमका कर्मचारीमाथि भएको आक्रमण स्वीकार्य नहुने बताइन् । उनले सरकारी काममा अवरोध गर्ने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।
प्रहरीका अनुसार १२ जनाको नाममा तथा थप १२ अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ । प्रशासनले अवैध डेरी सञ्चालन रोक्ने, सरकारी टोलीमाथि आक्रमण गर्ने र सरकारी काममा अवरोध पुर्याउने व्यक्तिविरुद्ध कानुनी कारबाही जारी राख्ने जनाएको छ ।