बर्खास्त गरिएका युक्रेनी रक्षामन्त्रीले गरे राष्ट्रपति निर्वाचनको आह्वान

आप्रवासन आप्रवासन

 

 युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चयनका लागि निर्वाचन गराउन आह्वान गरेका छन् । उनको यो मागलाई रूसको पूर्णस्तरीय आक्रमण सुरु भएको साढे चार वर्षपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि अहिलेसम्मकै ठुलो राजनीतिक चुनौतीका रूपमा हेरिएको छ ।

३५ वर्षीय फेडोरोभले मंगलबार युट्युबमा सार्वजनिक गरेको भिडियोमा रुसले युक्रेनको लोकतन्त्रलाई बन्धक बनाउन नसक्ने बताएका छन् । युक्रेन स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहनकै लागि युद्ध लडिरहेको पनि उनले उल्लेख गरेका छन् । रुसले २०२२ मा पूर्णस्तरीय आक्रमण सुरु गरेयता युक्रेनमा मार्शल ल लागू छ । यही कारण त्यहाँ निर्वाचन स्थगित गरिएको छ ।

गत महिना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अचानक फेडोरोभलाई रक्षामन्त्रीको पदबाट हटाएका थिए । रक्षामन्त्री नियुक्त भएको करिब छ महिनामै उनी पदबाट बर्खास्त भएका थिए । उनको बर्खास्तीपछि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शनसमेत भएका थिए । फेडोरोभको पछिल्लो भिडियोमाथि जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

रक्षामन्त्रीका रूपमा छोटो कार्यकालमै फेडोरोभ निकै लोकप्रिय बनेका थिए । उनलाई रक्षा मन्त्रालयमा सुधार ल्याउने, भ्रष्टाचारविरुद्ध अभियान अघि बढाउने तथा अग्रपंक्तिमा सैन्य कार्यसम्पादन सुधार गर्न तथ्यांक र प्रविधिको प्रयोग बढाउने प्रयासको श्रेय दिइएको थियो । उनको बर्खास्ती र सेनाका कमान्डर–इन–चीफ ओलेक्जान्डर सिस्र्कीबीचको तनावसँग जोडिएको मानिएको थियो । फेडोरोभलाई पुनः रक्षामन्त्री बनाउनुपर्ने मागसहित विरोध प्रदर्शन बढ्दै गएपछि केही दिनमै सिस्र्कीलाई पनि पदबाट हटाइएको थियो ।

फेडोरोभलाई सैन्य नवप्रवर्तनसम्बन्धी उपप्रधानमन्त्रीलगायत सरकारका अन्य पदको प्रस्ताव गरिएको थियो । तर उनले आफू रक्षामन्त्रीकै रूपमा मात्र सरकारमा फर्किने बताए । फेडोरोभले यो भिडियो सार्वजनिक गर्नुभन्दा केही घण्टाअघि गुप्तचर अधिकारी मेजर जनरल येभेनी ख्मारालाई जेलेन्स्कीले नयाँ रक्षामन्त्रीका रूपमा संसदमा मनोनयन गरेको पुष्टि गरेका थिए ।