अमेरिकामा हेलिकप्टर र प्लेन जुधे; १ को मृत्यु, २ घाइते

आप्रवासन आप्रवासन

 

अमेरिकाको पेन्सिलभेनिया राज्यमा प्रशिक्षण अभ्यासका क्रममा राज्य प्रहरीको हेलिकप्टर र एउटा सानो विमान आपसमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने दुई जना राज्य प्रहरी घाइते भएका छन् । घटना बुधबार साँझ करिब ६ः५२ बजे कम्बरल्यान्ड काउन्टीस्थित कार्लाएल क्षेत्रीय विमानस्थलमा भएको प्रहरीले जनाएको छ । उक्त विमानस्थल फिलाडेल्फियाबाट करिब १२० माइल पश्चिममा पर्छ ।

पेन्सिलभेनिया राज्य प्रहरीका कार्यवाहक आयुक्त लेफ्टिनेन्ट कर्नेल जर्ज बिभेन्सका अनुसार दुई सदस्यीय हेलिकप्टर टोली धावनमार्गको छेउमा रहेको घाँसे मैदानमा नियमित प्रशिक्षण अभ्यास गरिरहेको थियो । त्यसै क्रममा धावनमार्गबाट उडेको दुई सिटे सेस्ना मोडल १५० विमान दायाँतर्फ मोडिँदै पछाडिबाट हेलिकप्टरमा ठोक्किएको थियो । दुर्घटनाका बेला हेलिकप्टर जमिनबाट केही फिट मात्रै माथि रहेको बिभेन्सले बताए ।

उनका अनुसार हेलिकप्टरमा रहेका पाइलटहरूले पछाडिबाट आउँदै गरेको विमान देख्न सक्ने अवस्था थिएन । उनले घटनालाई ‘अत्यन्त शक्तिशाली दुर्घटना’ भने । दुर्घटनापछि हेलिकप्टरमा रहेका दुवै प्रहरी सुरुमा भित्रै फसेका थिए । तीमध्ये एक प्रहरीले झ्यालबाट बाहिर निस्केर अर्का प्रहरीलाई समेत बाहिर निकाल्न सहयोग गरेका थिए । त्यसपछि उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।

सानो सेस्ना विमानमा पाइलट मात्रै रहेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि विमानमा अरू कोही सवार थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले पेन्सिलभेनिया राज्य प्रहरीको सहयोगमा गरिरहेका छन् । पेन्सिलभेनियाका गभर्नर जोस शापिरोले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ठुलो मानवीय क्षति हुन सक्ने अवस्था भए पनि त्यसो हुनबाट जोगिएको बताए ।

गत वर्ष रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलनजिक हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किँदा ६७ जनाको मृत्यु भएपछि अमेरिकामा हेलिकप्टर र विमान दुबैले प्रयोग गर्ने हवाई क्षेत्रको सुरक्षाबारे विशेष ध्यान दिइँदै आएको छ । कार्लाएल विमानस्थलमा करिब ४ हजार फिट लामो एउटा मात्रै धावनमार्ग छ । न त यो विमानस्थलमा नियन्त्रण टावर छ । पाइलटहरूले रेडियोको साझा फ्रिक्वेन्सीमार्फत आफ्ना उडानसम्बन्धी जानकारी आदानप्रदान गर्ने गर्छन् । यो अभ्यास साना विमानस्थलका लागि सामान्य हो ।