रुसले रातभरि गरेको क्षेप्यास्त्र आक्रमणमा परेर किभमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यी घटनामा अन्य ३४ जना घाइते भएको बताइएको छ । युक्रेनसँग हवाई प्रतिरक्षा मिसाइलको अभाव भएकै समयमा रुसले युक्रेनमाथि हालैका दिनमा आक्रमण तीव्र पारिरहेको छ ।
रातभर भएका आक्रमणमा सहर भरका आवासीय भवन र गोदाम घरलाई निशाना बनाइएको युक्रेनको स्टेट इमर्जेन्सी सेवा (डीएसएनएस) ले भनेको छ । आक्रमणमा परे बाल अस्पताल र विद्यालयमा पनि क्षति पुगेको बताइएको छ ।
सैन्य सुविधा र गोदाम घरहरूलाई निशाना बनाउन आफ्ना सेनाले हवाई, भूमि र समुद्री हतियार प्रयोग गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा ७२६ वटा युक्रेनी ड्रोनलाई खसालिएको बताइएको छ । हवाई प्रतिरक्षा मिसाइलको अभावका कारण यति धेरै मृत्यु भइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् ।
युद्ध सुरु भएयता युक्रेनले यस्ता हतियारका लागि अमेरिका र पश्चिमी सहयोगी देशहरूमाथि निर्भर रहँदै आएको छ । युक्रेनले पर्याप्त एन्टि–ब्यालिष्टि नपाउँदासम्म युक्रेनले शान्तिबारे गम्भीर भएर नसोच्ने टेलिग्राममा जेलेन्स्कीले लेखेका छन् ।