इजरायली सेनाद्वारा पाँच वर्षीया बालिकाको हत्या मामिलामा छानबिन सुरु

आप्रवासन आप्रवासन

 

पाँच वर्षिया प्यालेष्टिनी बालिका हिन्द रजाबको हत्या भएको दुई वर्षभन्दा बढी समयपछि इजरायली रक्ष बल (आईडीएफ)ले यस मामिलामा छानबिन सुरु गरेको छ ।

सन् २०२४ को जनवरीमा यो घटना हुँदा आफ्ना सेना सो वा आसपासका क्षेत्रमा रहेको कुरा नै सुरुमा आईडीएफले अस्वीकार गरेको थियो । यो वर्षको जनवरीमा इजरायली अधिकारीहरूले यस मामिलामाथि पुनरावलोकन गरिरहेको बताएका थिए ।

पुनरावलोकनपछि फेला परेका तथ्यतर्फ औँल्याउँदै आईडीएफले बुधबार यस मामिलामा आपराधिक अनुसन्धान गर्ने निर्णय गरेको एउटा विज्ञप्तिमा भनेको छ । आईडीर्एफले छानबिन सुरु गरेको दुई हाई–प्रोफाइल घटनामध्ये यो एउटा हो । तर युद्ध सुरु भएको सुरुवाती महिनामा सहायता कामदारको हत्या भएका अन्य तीन आक्रमणका घटनामाथि भने छानबिन नहुने बताइएको छ ।

उत्तरी गाजामा रजाब चढेको कारमाथि इजरायली सेनाले गोलीबारी गर्दा यसमा उनी समेत परिवारका सात सदस्य थिए । सुरुमा भएको गोलीबारीमा रजाब बचिन् । सहायताका लागि उनले घण्टौँसम्म प्यालेस्टाइन रेड क्रिसेन्ट एम्बुलेन्सलाई फोन गरेकी थिइन् । बल्लतल्ल आएको एउटा एम्बुलेन्स आक्रमणको चपेटामा पर्‍यो । १२ दिनपछि  रजाबको शव फेला परेको थियो । आक्रमणमा परेको कारमा उनेका शव फेला परेको थियो । 

सेनाले आफ्नो नजिक आउँदै गरेको गाडीमाथि गोली चलाएको परीक्षणको निष्कर्ष रहेको आईडीएफले विज्ञप्तिमा भनेको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट एम्बुलेन्सको आवागमनमा समन्वय हुन नसक्दा रजाबको मृत्यु भएको निष्कर्ष निकालिएको छ । यसैको आधारमा आईडीएफले सैन्य प्रहरी आपराधिक अनुसन्धान डिभिजनलाई घटनाको आपराधिक अनुसन्धान सुरु गर्ने जिम्मा दिएको छ ।

हिन्द रजाबको मृत्युबारे छानबिन सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयताका युद्ध अपराध सम्बन्धी आईडीएफको पहिलो व्यापक प्रतिवेदनको अंश हो । यसबाहेक पनि सेनाले २०२५ को मार्चमा एम्बुलेन्स र अन्य आपतकालीन प्रतिक्रिया सवारी साधनहरूमा यात्रा गरिरहेका १५ जना प्यारामेडिक्स र पहिलो प्रतिक्रियाकर्ताहरूको हत्याबारे पनि आपराधिक अनुसन्धान सुरु गरेको छ ।  

संयुक्त राष्ट्रसङ्घका लागि प्यालिष्टिनी राजदूत रियाद मन्सुरले भने विगतमा गरेका छानबिन स्वतन्त्र र भरपर्दो नभएको इजरायलको आलोचना गरेका छन् । यो छानबिन फरक हुनेमा उनले आशङ्का व्यक्त गरेका छन् । छानबिन भरपर्दो भए रजाबको हत्याका लागि जिम्मेवार व्यक्तिहरू पक्राउ पर्ने र सजाय पाउने उनले बताएका छन् ।