विश्व बजारमा बिहीबार कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानविरुद्ध ‘विनाशकारी आर्थिक कारबाही’ अघि बढाउने चेतावनी दिएका थिए ।
उनको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य बिहीबार बिहान अमेरिकी पूर्वी समयअनुसार २ दशमलव ४ प्रतिशतले बढेर करिब ९४ डलर प्रतिब्यारेलमा पुगेको थियो ।
यो जुलाईको अन्त्ययताकै उच्च स्तर हो । अमेरिकी बजारको मापदण्ड मानिने वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को फ्युचर्सको मूल्य २ दशमलव ५ प्रतिशतले बढेर ८६ डलर पुगेको थियो ।
ट्रम्पले बुधबार विनाशकारी आर्थिक कारबाही अघि बढाउने चेतावनी दिएपनि यसबारे विस्तृत जानकारी भने दिएका थिएनन् । यस क्रममा उनले इरानसँग व्यापार गर्ने तथा इरानलाई ‘कुनै पनि प्रकारको जीवनरेखा’ उपलब्ध गराउने देशहरूलाई पनि कारबाही गर्ने धम्की पनि दिएका थिए ।
‘तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता, अग्रभागमा बसेर काम गर्ने कम्पनीहरू– यी सबै अब तुरुन्तै बन्द हुनुपर्छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए । “तपाईंहरू को हुनुहुन्छ थाहा छ,’ पोस्टमा अगाडि लेखिएको थियो ।
अमेरिका र इरानबिच शान्ति सम्झौताका लागि वार्ता गर्ने समयसीमा औपचारिक रूपमा सोमबार समाप्त भएको छ । यसैबिच दुई देशबिच तनाव अझै बढेको छ ।
यसअघिका केही हप्तामा दुई देशबिचको सम्बन्ध अत्यन्त खराब बनेको थियो र पुनः युद्ध समेत सुरु भएको थियो । इरान युद्धका कारण स्ट्रेट अफ हर्मुज ठप्प प्रायः भएपछि पश्चिम एसियाबाट खासै धेरै तेल बाहिरिन सकेको छैन । यसका कारण विश्व बजारमा कच्चा तेलको भाउ महँगो भएको छ भने विश्वभर महँगी पनि बढाइरहेको छ।