न्यूयोर्क क्यापिटलमा बम विस्फोट गराउने आतंकवादी योजना विफल, महिला पक्राउ

आप्रवासन आप्रवासन

 

अमेरिकी अधिकारीहरूले न्यूयोर्क राज्यको राजधानी अल्बानीस्थित न्यूयोर्क क्यापिटलमा बम विस्फोट गराउने योजनालाई विफल पारेका छन् । यस घटनामा अधिकारीहरूले ३५ वर्षीया जेसिका बोवीलाई पक्राउ गरेका छन् ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बिहीबार बताएअनुसार बोवीले इस्लामिक स्टेट (आईएसआईएस)प्रति समर्थन जनाउँदै आएकी थिइन् । उनले हमलाका लागि अल्बानीका विभिन्न सरकारी भवनहरूको रेकी गरेको र न्यूयोर्क क्यापिटलभित्र विस्फोटक पदार्थ पुर्‍याउने योजना बनाएको बताइएको छ । निष्क्रिय विस्फोटक र नक्कली बन्दुकको साथमा उनलाई बिहीबार न्यूयोर्क क्यापिटलनजिकैबाट पक्राउ गरिएको हो ।

बोवीमाथि विदेशी आतंकवादी संगठनलाई सहयोग गर्ने प्रयास गरेको आरोप छ । पक्राउपछि उनलाई अल्बानीस्थित संघीय अदालतमा उपस्थित गराइएको थियो, जहाँ संघीय मजिस्ट्रेटले उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । अदालतमा दायर गरिएको उजुरीअनुसार बोवीले करिब पाँच वर्षअघि इस्लाम धर्म अपनाएकी थिइन् । त्यसपछि उनले इस्लामी नाम आयशा सैफ प्रयोग गर्न थालेकी थिइन् । सामाजिक सञ्जालमासन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी हमलाका अल–कायदा आतंककारीहरूको समर्थनमा पोस्टहरू गरेको आरोप पनि उनीमाथि छ ।

एफबीआईका अनुसार बोवीले सामाजिक सञ्जालमा अमेरिकाविरोधी विभिन्न अभिव्यक्ति दिएकी थिइन् र आतंकवादी संगठनप्रति समर्थन जनाएकी थिइन् । एफबीआईका एक गोप्य सूचनादाताले उनीसँग सम्पर्क गरेपछि बोवीले आतंकवादी हमला गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनले गैरमुस्लिमहरूलाई लक्षित गर्दै हिंसात्मक अभिव्यक्ति दिएको अदालतमा दायर उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीअनुसार बोवीले आफ्नो प्रतिबद्धता प्रमाणित गर्न आईएसआईएसका कथित नेता अबु हाफा अल–हाशिमी अल–कुरैशीप्रति निष्ठाको शपथ अर्थात् ‘बयाह’ लिएको दाबी गरिएको छ । अमेरिकी अधिकारीहरूले उनलाई इस्लामिक स्टेट आतंकवादी संगठनको प्रमुखका रूपमा उल्लेख गरेका छन् । एफबीआईको उजुरीअनुसार बोवीले अल्बानीमा रहेका विभिन्न सरकारी भवनहरूको निरीक्षण गरेकी थिइन् । यसमा न्यूयोर्कका गभर्नरको कार्यालय समेत रहेको बताइएको छ । 

पछि उनले राज्यको विधायिकाको काम हुने न्यूयोर्क क्यापिटललाई मुख्य निशाना बनाउने निर्णय गरेको आरोप छ । गोप्य सूचनादातामार्फत उनको सम्पर्कमा आएका अन्य दुई व्यक्तिले पनि उनका समर्थक भएको नाटक गर्दै योजनामा सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

अदालतमा दायर उजुरीमा बोवीले न्यूयोर्क क्यापिटल भवनलाई सकेसम्म ठूलो क्षति पुर्‍याउने र बैठकका क्रममा राज्यका सिनेटरहरूलाई मार्ने इच्छा व्यक्त गरेको आरोप लगाइएको छ । एफबीआईका विशेष एजेन्ट क्रेग ट्रेमारोलीले पत्रकारहरूसँग बोवीको उद्देश्य सांसदहरूलाई मात्र लक्षित गर्नु नभई सरकारलाई नै ठूलो क्षति पुर्‍याउनु रहेको बताएका छन् । उजुरीअनुसार बोवीले न्यूयोर्क क्यापिटलमा हमला गरेपछि भागेर देशबाहिर जाने योजना बनाएकी थिइन् । उनले भविष्यमा थप हमला गर्ने धम्कीसमेत दिएको आरोप छ ।

बोवीले खाना डेलिभरीको सामानजस्तो देखिने गरी विस्फोटक पदार्थ न्यूयोर्क क्यापिटलभित्र लैजाने योजना बनाएकी थिइन् । त्यसका लागि उनले खाना डेलिभरी सेवाको झोला समेत प्राप्त गरेको एफबीआईले जनाएको छ । न्यूयोर्क राज्यमा एक महिनाभन्दा केही बढी समयभित्र इस्लामिक आतंकवादी संगठनसँग महिलाको कथित संलग्नताको यो दोस्रो मामला भएको अधिकारीहरूले बताएका छन् ।

 यसअघि जुन महिनाको अन्त्यतिर क्यानडाको सीमाना नजिकै रहेको आयरनडेक्वॉइट क्षेत्रमा ३७ वर्षीया क्याथरिन बेथ वासबर्नलाई इस्लामिक आतंकवादी संगठनसँग कथित सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको थियो ।