अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत शुल्क लगाएपछि क्यानडाले पनि त्यसको प्रतिकारमा ‘डलर बराबर डलर’ शुल्क लगाउने घोषणा गरेको छ । क्यानडासँगको व्यापार सम्झौताको प्रयास असफल भएपछि अमेरिकाले तीन दिन पर सारेको ट्यारिफ शनिबारदेखि लागू भएको थियो ।
यसको जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जस्तालाई तस्तै गर्दै अमेरिकाबाट आयात हुने विभिन्न वस्तुमा समान दरमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरे । क्यानडाको नयाँ शुल्क आगामी सेप्टेम्बर ८ देखि लागू हुनेछ । यो स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय तथा घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा कागज र इलेक्ट्रोनिक्सलगायत वस्तुमा लागू हुने जनाइएको छ ।
ओटावामा आयोजित पत्रकार सम्मेलनमा कार्नीले अमेरिकाले पछिल्ला दिनमा राखेका नयाँ सर्तहरू क्यानडाका लागि आर्थिक रूपमा अव्यावहारिक र अनुचित भएको बताए । उनका अनुसार ती सर्तले सम्भावित व्यापार सम्झौताबाट क्यानडाले पाउने फाइदामाथि नै प्रश्न उठाएको छ । कार्नीले भने, ‘उनीहरूले धेरै मागे, तर बदलामा निकै कम प्रस्ताव गरे,’ । व्यापार सम्झौता टुंग्याउन क्यानडाले केही कदम चाल्न तयार भएको थियो । गत वर्ष अमेरिकाविरुद्ध लगाइएका प्रतिशोधात्मक शुल्क हटाउने तथा अमेरिकी मदिराजन्य उत्पादनलाई क्यानडाका पसलमा पुनः बिक्री गर्न दिने प्रस्तावसमेत क्यानडाले अघि सारेको थियो ।
तर अटोमोबाइललगायत प्रमुख उद्योगका लागि आवश्यक आर्थिक सर्तमा अमेरिका सहमत नभएको क्यानडाको भनाइ छ । महत्वपूर्ण खनिजको विषयमा भने क्यानडाले अमेरिकालाई विशेष वा एकाधिकार पहुँच दिन नसक्ने कार्नीले स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री कार्नी तथा दुवै देशका उच्च व्यापार अधिकारीहरूबीच पछिल्लो एक सातादेखि लगातार प्रत्यक्ष सम्पर्क भइरहेको थियो । यसअघि ट्रम्पले नयाँ शुल्क कार्यान्वयन गर्नुपर्ने समय तीन दिन पछि सारेका थिए । यसै क्रममा ट्रम्पले साताको सुरुवातमा ‘हामी क्यानडासँग सम्झौतामा पुगेका छौं’ भनेका थिए । तर सम्झौताको अन्तिम दस्तावेज तयार हुन बाँकी रहेको बताइएको थियो ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले शनिबार क्यानडाले यसअघि सहमति भएका सर्तअनुसार व्यापार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गरेको आरोप लगाए । उनका अनुसार प्रस्तावित सम्झौतामा स्टिल, एल्युमिनियम, अटोमोबाइल र काठजन्य सामग्रीमा उल्लेख्य शुल्क कटौती तथा आर्थिक र राष्ट्रिय सुरक्षा क्षेत्रमा महत्वपूर्ण साझेदारीको व्यवस्था थियो । ग्रियरले क्यानडाले नयाँ माग थप्नुका साथै यसअघि गरेका केही प्रतिबद्धताबाट पछि हटेकाले दुवै पक्षबीच पछिल्ला दिनमा बनेको सहमतिको सन्तुलन बिग्रिएको दाबी गरे ।
क्यानडाले अमेरिकी शुल्कको जवाफमा प्रतिशोधात्मक कदम चाल्ने घोषणा गरेपछि अमेरिकाले पनि क्यानडाविरुद्ध थप कदम चाल्ने संकेत दिएको छ । ग्रियरले अमेरिकाले क्यानडाको कदमको जवाफमा आफ्ना प्रतिकारात्मक उपाय अघि बढाउने बताए पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरेनन् । ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेयता अमेरिका–क्यानडा व्यापार सम्बन्ध थप तनावपूर्ण बन्दै गएको देखाएको छ ।