भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् ।
सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाबसहितका राज्यले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ सङ्क्रमित भेटिएका छन् । तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ अर्थात् स्वाइन फ्लु पुष्टि भएको छ । गत वर्ष यही अवधिमा एच१एन१ का २ सय २९ सङ्क्रमित मात्रै भेटिएका थिए । यस आधारमा दिल्लीमा स्वाइन फ्लुका बिरामीको सङ्ख्या करिब आठ गुणाले बढेको देखिएको छ ।
अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ सङ्क्रमित भेटिएका थिए । यसबाहेक एच३ का १ सय ३८ र एच१ का ३७ सङ्क्रमित पनि पुष्टि भएका छन् ।
उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना स्वाइन फ्लु सङ्क्रमित भेटिएका छन् । उत्तर प्रदेशमा अगस्ट २० सम्म पुष्टि भएका संक्रमितमध्ये धेरैजसो राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेका छन् । मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ सङ्क्रमित उपचाररत रहेको जनाइएको छ ।
महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म एच१एन१ का ३ सय ९ सङ्क्रमित भेटिएका छन् । गत वर्ष सोही अवधिमा ७२ सङ्क्रमित मात्रै थिए । यस वर्ष मुम्बईमा सङ्क्रमितको सङ्ख्या चार गुणाभन्दा बढी भएको छ । छत्तीसगढमा पनि एक सङ्क्रमित भेटिएको जनाइएको छ ।
सङ्क्रमण बढे पनि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले अहिले फैलिरहेको स्वाइन फ्लु कुनै नयाँ भेरियन्ट नभएको स्पष्ट पारेको छ । परिषद्का अनुसार यो भाइरस सन् २०२५ देखि नै भारतमा रहेको र निरन्तर निगरानीमा छ ।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले स्वाइन फ्लुका बढ्दो घटनाबिच अवस्थाको समीक्षा गरेका छन् । समीक्षा क्रममा रोगको निगरानी बढाउने, परीक्षण विस्तार गर्ने, अस्पतालको तयारी सुनिश्चित गर्ने र सङ्क्रमितलाई समयमै उपचार उपलब्ध गराउने विषयमा निर्देशन दिइएको छ । गम्भीर अवस्थामा पुग्न सक्ने बिरामीको पहिचान छिटो गर्न पनि राज्यहरूलाई भनिएको छ ।
विश्व स्वास्थ्य संगठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले अहिले देखिएको सङ्क्रमण मौसमी इन्फ्लुएन्जासँग सम्बन्धित रहेको बताएकी छन् । उनका अनुसार राम्रो निगरानी र परीक्षणको दायरा बढेकाले पनि सङ्क्रमितको सङ्ख्या बढी देखिएको हुन सक्छ ।
उनले सर्वसाधारणलाई आत्तिनुभन्दा सतर्क रहन सुझाव दिएकी छन् । विशेषगरी उच्च जोखिममा रहेका व्यक्तिले भीडभाडमा जानबाट जोगिनुका साथै खोकी, रुघाखोकीलगायतका लक्षण देखिएमा आवश्यक सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।