वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण

आप्रवासन आप्रवासन

 

युक्रेनले रुसको दोस्रो ठुलो ई–कमर्स कम्पनी ओजोनका लजिस्टिक केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र पारेको छ। कम्पनीले सोमबार दक्षिणी क्रास्नोदार क्षेत्रमा रहेको आफ्नो अर्को लजिस्टिक केन्द्रमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको जनाएको छ।

युक्रेनले रुसी सेनालाई सामग्री आपूर्ति गरेको आरोप लगाउँदै रुसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका लजिस्टिक केन्द्रलाई केही सातादेखि निसाना बनाउँदै आएको छ। ओजोन रुसको दोस्रो ठुलो अनलाइन बजार हो। यसका देशभर डेलिभरी केन्द्र, सामान बुझ्ने स्थान तथा बक्सहरू रहेका छन्। दुवै कम्पनीले रुसको तीव्र गतिमा विस्तार भइरहेको ई–कमर्स बजारको ठूलो हिस्सा ओगटेका कारण तिनलाई ‘रुसको अमेजन’ समेत भन्ने गरिन्छ।

ओजोनले सोमबार टेलिग्राममार्फत क्रास्नोदारस्थित लजिस्टिक केन्द्रमा ड्रोन आक्रमणपछि ठूलो आगलागी भएको जनाएको छ। कम्पनीका अनुसार कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारिएको र प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति नभएको बताइएको छ। यसअघि आइतबार मध्य रुसको ओरेनबर्ग क्षेत्रमा रहेको ओजोनको लजिस्टिक केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको थियो। कम्पनीले उक्त केन्द्रको सञ्चालन तत्कालका लागि रोकिएको जनाएको छ ।

त्यसको अघिल्लो दिन छिमेकी समारा क्षेत्रमा रहेको ओजोनको अर्को केन्द्रमा आक्रमण भएको थियो। उक्त घटनामा केही कर्मचारी घाइते भएको कम्पनीले जनाएको छ।

युक्रेनी सेनाले शनिबार ओजोनलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेको पुष्टि गरेको थियो। युक्रेनी रक्षा मन्त्रालयले वाइल्डबेरीजका १५ ठूला लजिस्टिक केन्द्रमा आक्रमण गरेपछि अब ओजोनलाई लक्षित गरिएको जनाएको छ । सेन्ट पिटर्सबर्गको बाहिरी क्षेत्रमा रहेको ओजोनको सुविधा केन्द्रनजिकैको अर्को लजिस्टिक केन्द्रमा पनि आक्रमण भएको बताइएको छ।

सैन्य अखडाको तुलनामा तुलनात्मक रूपमा कम सुरक्षा भएका लजिस्टिक केन्द्रलाई लक्षित गरिएका आक्रमणले ठुलो आर्थिक क्षति पुर्‍याएको छ। केही केन्द्रमा अत्यधिक ज्वलनशील सामग्री भण्डारण गरिएकाले आगलागीपछि ती पूर्ण रूपमा नष्ट भएका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाइल्डबेरीजलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै युक्रेनी आक्रमणबाट क्षतिग्रस्त लजिस्टिक केन्द्र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना नागरिक पूर्वाधारमा भएका युक्रेनी आक्रमणको आलोचना गर्दै आएको छ।