इरानको संसद्ले रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ भएर आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने प्रस्ताव पारित गरेको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले आइतबार आयोजना गरेको बैठकले उक्त जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको हो।
आयोगका प्रवक्ता हसन कास्कावीले ‘स्ट्रेट अफ होर्मुजको सुरक्षा र प्रगतिका लागि रणनीतिक कार्ययोजना’ को धारा ३ लाई बैठकले अनुमोदन गरेको जानकारी दिए। अघिल्लो बैठकमा उक्त धारामाथि सहमति जुट्न नसके पनि पछिल्लो छलफलपछि यसलाई स्वीकृत गरिएको कास्कावीले बताए। ‘यस धाराअनुसार हामीले उपलब्ध गराउने समुद्री सेवा, वातावरणीय सेवा, विशेष परिस्थितिमा इन्धन आपूर्ति, बिमा, सुरक्षा तथा अन्य सेवाबापत शुल्क लिइनेछ,’ उनले भने।
स्ट्रेट अफ होर्मुज पार गर्ने अनुमति पाएका देशका जहाजहरूबाट यो शुल्क असुल गरिनेछ। शुल्क इरानी रियाल वा इरानले तोकेको अन्य कुनै पनि मुद्रामा बुझाउन सकिने व्यवस्था गरिएको छ। तटीय राष्ट्रहरूको अधिकार र सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिँदै कास्कावीले अन्तर्राष्ट्रिय कानुनले जलमार्गमा आवागमनको स्वतन्त्रता दिए पनि तटीय देशको सार्वभौमिकताको सम्मान हुनुपर्ने स्पष्ट पारे। सन् १९८२ को समुद्री कानुनसम्बन्धी महासन्धि स्वीकार गर्दा ओमानले आफ्नो राष्ट्रिय सार्वभौमिकता र सुरक्षामा आँच आउन नदिने घोषणा गरेको स्मरण गराउँदै उनले फारसको खाडी र होर्मुज क्षेत्रका आफ्नै नियम तथा परिस्थिति रहेको बताए।