चीनले पछि सार्‍यो चन्द्रमामा पानी खोज्ने ऐतिहासिक मिसन प्रक्षेपण

आप्रवासन आप्रवासन

 

 चन्द्रमाको दक्षिणी ध्रुवमा पानीको बरफ खोज्ने उद्देश्यले तयार गरिएको चीनको रोबोटिक ‘चाङअ–७’ मिसन निर्धारित समयमा प्रक्षेपण नहुने भएको छ ।

चन्द्रमामा भविष्यमा मानव बस्ती बसाउन र अन्तरिक्ष अभियानका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको पानीको स्रोत पहिचान गर्न अमेरिका र चीनबिच प्रतिस्पर्धा चलिरहेका बेला चीनले आफ्नो अभियान स्थगित गरेको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको चीन मानव अन्तरिक्ष इन्जिनियरिङ कार्यालयको वक्तव्यअनुसार चाङअ–७ लाई यस वर्षका लागि तय गरिएको प्रक्षेपण अवधिमा अन्तरिक्षमा पठाउन सकिने छैन ।

यो अभियान आइतबार साँझ वा बेइजिङ समयअनुसार सोमबार बिहान दक्षिणी चीनको हाइनान प्रान्तबाट प्रक्षेपण गर्ने तयारी थियो । अब प्रक्षेपणको प्रयास कहिले गरिनेछ भन्नेबारे चिनियाँ अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

प्रक्षेपण स्थगित गर्नुको ठ्याक्कै कारण पनि तत्काल सार्वजनिक गरिएको छैन । सरकारी सञ्चारमाध्यमले चन्द्रयान प्रक्षेपणका लागि आवश्यक अवस्थामै नरहेको र निर्णय गर्दा सावधानी, विश्वसनीयता र अभियानको पूर्ण सफलतालाई प्राथमिकता दिइएको मात्र भनेको छ । थाइल्यान्डको नेसनल एस्ट्रोनोमिकल रिसर्च इन्स्टिच्युट (नारित)का कार्यकारी निर्देशक विपु रुझोपाकर्नले सोमबार सीएनएनलाई यो अभियान अब सम्भवतः अर्को वर्ष हुने बताएका थिए । उनका अनुसार वसन्त ऋतु वा मध्यगर्मीमा प्रक्षेपणका लागि दुईमध्ये कुनै एक अवसर हुन सक्छ ।

चाङअ–७ का लागि अनुसन्धान उपकरण तयार गर्ने सात अन्तर्राष्ट्रिय साझेदारमध्ये नारित पनि एक हो । त्यसैले आफूले चिनियाँ टोलीबाट अभियानबारे पछिल्लो जानकारी पाएको विपुले बताए । अभियान प्राविधिक रूपमा निकै जटिल र अहिलेसम्म प्रयास नगरिएको प्रकृतिको भएकाले ढिलाइ भएको हुन सक्ने उनको भनाइ थियो । उपयुक्त स्थानमा अवतरण गर्न सकियोस् भनेर चन्द्रमामा अवतरण गर्नुअघि यानले अत्यन्तै सटीक कक्षमा प्रवेश गर्नुपर्नेछ ।

‘चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको कुनै क्रेटरको किनारमा अन्तरिक्षयान अवतरण गराउने प्रयास यसअघि कसैले गरेको छैन । यो निकै कठिन काम हो,’ विपुले भने । हरेक वर्ष प्रक्षेपणका लागि उपलब्ध समय पनि निकै छोटो हुने पनि उनले बताए । प्रक्षेपण स्थगित हुनुमा मौसम मुख्य कारण देखिएको उनको भनाइ छ । विशेषगरी दक्षिणी चीन हुँदै मौसम प्रणाली अघि बढिरहेका बेला माथिल्लो वायुमण्डलमा चलेको तीव्र हावा यसको कारण हुन सक्ने उनको भनाइ छ । ‘अन्य कारण पनि हुन नसक्ने होइन,’ उनले थपे । तर थप प्राविधिक समस्या भए पनि प्रक्षेपणको समयावधि यति लामो गरी सारिने सम्भावना कम हुने उनको भनाइ छ । 

चन्द्रमाको दक्षिणी ध्रुवमा बढ्दो प्रतिस्पर्धा

चाङअ–७ को उद्देश्य चन्द्रमामा रहेको पानीको प्रत्यक्ष अध्ययन गर्ने पहिलो अभियान बन्नु थियो । अभियानअन्तर्गत ल्यान्डरबाट एउटा रोबोटिक ‘हपर’ बाहिर निस्कने र चन्द्रमाको दक्षिणी ध्रुवका क्रेटरहरूमा पुगेर बरफका नमुना लिन ड्रिल गर्ने योजना थियो । अमेरिकाले कक्षमा रहेका उपग्रहका रिमोट सेन्सरमार्फत चन्द्रमामा पानीको बरफ रहेको पत्ता लगाउनुका साथै त्यसको मात्रा अनुमान गर्न थालेको छ । तर पानीको बरफ निकाल्न ड्रिलसहितको यान सफलतापूर्वक पठाउन भने अहिलेसम्म सकेको छैन ।

अमेरिका र चीन दुवै चन्द्रमाको दक्षिणी ध्रुवमा मानव बस्ती निर्माण गर्ने दौडमा छन् । त्यहाँ उपलब्ध पानीको स्रोत बुझ्नु र भविष्यमा त्यसको उपयोग गर्नु चन्द्रमाको विकासका लागि महत्त्वपूर्ण मानिएको छ । अमेरिकाको टेक्सासस्थित कम्पनी इन्ट्युटिभ मेसिन्सले सन् २०२५ मा चन्द्रमामा पानी खोज्ने ड्रिल पठाएको थियो । तर दक्षिणी ध्रुवको कठिन भू–भागमा अवतरण गर्ने क्रममा अन्तरिक्षयान पल्टिएपछि अभियानका मुख्य उद्देश्य पूरा हुन सकेनन् ।

चाङअ–७ को प्रक्षेपण स्थगित भएपछि अमेरिकाका लागि चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धामा केही समय थप अवसर मिल्ने देखिएको छ । अमेरिकी अधिकारीहरूले चीनसँगको प्रतिस्पर्धालाई अन्तरिक्ष दौडका रूपमा व्याख्या गर्दै आएका छन् । अमेरिकाले पनि आगामी एक वर्षभित्र चाङअ–७ ले लक्षित गरेको चन्द्रमाको यही क्षेत्रमा पुग्ने गरी विभिन्न अन्तरिक्ष अभियान अघि बढाइरहेको छ ।

पिट्सबर्गस्थित एस्ट्रोबोटिक टेक्नोलोजिजले सन् २०२६ को अन्त्यतिर चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो ग्रिफिन ल्यान्डर पठाउन सक्नेछ । अमरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले अर्को वर्ष चन्द्रमामा दुईवटासम्म रोबोटिक ल्यान्डर पठाउने योजना बनाएको छ । तीमध्ये एउटामा नासाले चन्द्रमाको पानीको बरफ र अन्य स्रोत खोज्न विशेष रूपमा विकास गरेको ‘भाइपर’ रोभर राखिने सम्भावना छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा ठुलो मात्रामा जमेको पानी रहेको विश्वास नै यो क्षेत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुख्य केन्द्र बन्नुको प्रमुख कारण हो । भविष्यमा गहिरो अन्तरिक्ष अभियान र चन्द्रमामा मानव बस्ती निर्माणका लागि पानीलाई अत्यन्तै मूल्यवान स्रोत मानिन्छ । पानीबाट श्वास फेर्न आवश्यक अक्सिजन, पिउने पानी र रकेट इन्धनसमेत बनाउन सकिन्छ । तर त्यहाँ यस्तो प्रयोजनका लागि पर्याप्त मात्रामा पानीको बरफ रहेको छ कि छैन भन्ने अझै निश्चित नभएको ब्राउन विश्वविद्यालयका प्राध्यापक एमेरिटस जेम्स हेड बताउँछन् । उनले नासाको अपोलो चन्द्र अभियानमा काम गरेका थिए ।

हेडका अनुसार चाङअ–७ ले यस विषयमा महत्त्वपूर्ण प्रगति गर्न सहयोग पुर्‍याउन सक्छ र आगामी अनुसन्धान तथा परीक्षणलाई अझ लक्षित बनाउन सक्नेछ । चाङअ–७ मार्फत चीनको चन्द्र अभियान अन्वेषण कार्यक्रमबाट स्रोत उपयोग गर्ने कार्यक्रमतर्फ अघि बढिरहेको हङकङ विश्वविद्यालयका चन्द्र भू–गर्भशास्त्री युकी छ्यानले भनेकी छन् ।

‘चीन र अन्य देशहरू चन्द्रमाको अन्वेषण र पृथ्वीका स्रोतको प्रयोगबाट अघि बढेर चन्द्रमामै उपलब्ध स्रोत उपयोग गर्दै अझ दिगो रूपमा चन्द्र अन्वेषण गर्ने दिशामा विकसित भइरहेका छन्,’ उनले भनिन् ।