इरानको संसदले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्ताव पारित गरेको छ ।
होर्मुजमा सेवा लिने जहाजबाट शुल्क असुल्ने प्रस्ताव इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले स्वीकृत गरेको हो । आइतबार दिउँसो आयोगको बैठकमा भएका छलफलबारे जानकारी दिँदै स्ट्रेट अफ होर्मुजको सुरक्षा र प्रगतिका लागि रणनीतिक कार्ययोजनाको धारा ३ स्वीकृत गरिएको संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता हसन कास्कावीले बताए ।
आयोगको अघिल्लो बैठकमा विधेयकको धारा ३ माथि निर्णय हुन नसकेको भए पनि आइतबारको बैठकमा त्यसलाई स्वीकृति दिइएको उनले बताएका छन् । ‘यस धाराअनुसार हामीले उपलब्ध गराउने समुद्री सेवा, वातावरणीय सेवा, विशेष परिस्थितिमा इन्धन आपूर्ति, बीमा, सुरक्षा तथा अन्य सेवाबापत शुल्क लिइनेछ,’ कास्कावीले भने ।
उनका अनुसार स्ट्रेट अफ होर्मुज पार गर्न अनुमति पाएका देशका जहाजबाट उक्त शुल्क असुल गरिनेछ । शुल्क इरानी रियालमा वा इस्लामिक गणतन्त्र इरानले चाहेको अन्य कुनै मुद्रामा लिन सकिने पनि उनले बताए । स्ट्रेट अफ होर्मुजका तटीय राष्ट्रहरूको अधिकारलाई पनि ध्यान दिनुपर्नेमा जोड दिँदै कास्कावीले अन्तर्राष्ट्रिय कानुन तथा नियमले जलमार्गमा आवागमनको स्वतन्त्रतालाई मान्यता दिए पनि तटीय देशको सुरक्षा, सार्वभौमिकताको सम्मान र ती अधिकारको उल्लंघन रोक्नुपर्ने विषयलाई समेत प्राथमिकता दिएको बताइएको छ ।
‘फारसको खाडी र स्ट्रेट अफ होर्मुजका आफ्नै नियम र अवस्था छन्,’ उनले भने । सन् १९८२ को समुद्री कानुनसम्बन्धी महासन्धि स्वीकार गरेपछि ओमानले तत्काल राजनीतिक घोषणा जारी गरेको स्मरण गराउँदै उक्त महासन्धिका प्रावधानले आफ्नो राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा असर पार्न नहुने ओमानले स्पष्ट पारेको पनि कास्कावीले बताए ।