स्ट्रेट अफ होर्मुज पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ ।
त्यस्ता जहाजलाई जरिवाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कारबाही हुन सक्ने पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)ले जनाएको छ । पीजीएसएले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । स्ट्रेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको हो ।
पीजीएसएले फारसको खाडीसम्बन्धी यात्राका क्रममा नियम पालना नगरेका ठहरिएका जहाजहरूको अद्यावधिक सूची हेर्न मालसामानका मालिकहरूलाई आग्रह गरेको छ ।
नियम नमान्ने जहाजसँग जहाजबाट जहाजमै मालसामान सार्ने वा अन्य प्रकारको ट्रान्ससिपमेन्ट गर्ने जहाजलाई पनि प्रतिबन्धित सूचीमा राखिने प्राधिकरणले जनाएको छ । नियम उल्लंघन गर्ने जहाजको सूचीबाट आफ्नो नाम हटाउन चाहने जहाजले सम्बन्धित कारण र स्पष्टीकरणसहित इरानी समुद्री अधिकारीसमक्ष निवेदन दिनुपर्ने पनि पोस्टमा बताइएको छ ।