४७ वर्षपछि आतङ्कवाद प्रायोजक राष्ट्रको सूचीबाट अमेरिकाले सिरियालाई हटायो

आप्रवासन आप्रवासन

 

अमेरिकाले सिरियालाई आतङ्कवाद प्रायोजक राष्ट्रको सूचीबाट हटाएको छ । सन् १९७९ देखि सिरिया उक्त सूचीमा रहेको थियो । यो निर्णयसँगै  सिरियामाथि लगाइएका केही प्रमुख आर्थिक तथा वित्तीय प्रतिबन्ध हट्ने बाटो खुलेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

सिरियाली सरकारले अन्तर्राष्ट्रिय आतंकवादबाट पूर्ण रूपमा दूरी कायम गर्न सकारात्मक कदम चालेकाले सूचीबाट हटाउने निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । उनका अनुसार यस कदमले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर दिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शाराप्रति पछिल्लो समय सकारात्मक धारणा राख्दै आएको छ । शारा विगतमा अल–कायदासँग सम्बन्धित विद्रोही समूहका नेता थिए । सन् २०२४ को अन्त्यतिर शाराले नेतृत्व गरेको हयात तहरिर अल–शाम (एचटीएस)ले  विद्रोही अभियानको नेतृत्व गर्दै तत्कालीन राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटायो । अमेरिकाले यसअघि एचटीएसलाई विदेशी आतंकवादी संगठनको सूचीबाट हटाउनुका साथै शारालाई विशेष रूपमा आतंकवादीका रूपमा तोकिएको सूचीबाट पनि हटाइसकेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सिरियालाई सूचीबाट हटाउने निर्णयले थप लगानी भित्र्याउन र राजनीतिक तथा आर्थिक स्थायित्व प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका छन् । सिरियाका विदेशमन्त्री असाद हसन अल–शैबानीले यस निर्णयलाई ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन् । सिरियामाथिको लामो समयदेखिको अलगावका असर हटाउँदै पारदर्शिता र पारस्परिक हितमा आधारित वातावरण निर्माणका लागि काम गर्ने उनले बताए ।

अब अमेरिकाको आतङ्कवाद प्रायोजक राष्ट्रको सूचीमा क्युबा, उत्तर कोरिया र इरान गरी तीन देश मात्र बाँकी छन् । उक्त सूचीमा परेका मुलुकमाथि आर्थिक प्रतिबन्ध, अमेरिकी वैदेशिक सहायता तथा रक्षा सामग्रीसम्बन्धी प्रतिबन्धलगायतका विभिन्न बन्देजहरू लाग्ने गरेका छन् ।