अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले एच–१बी भिसाका लागि १ लाख ३ हजार २६५ अमेरिकी डलर शुल्क तोक्ने प्रस्ताव अघि सारेको छ ।
यसअघि सरकारले १ लाख डलर शुल्क लगाउने प्रयास गरेको थियो । तर, गत जुनमा संघीय अदालतले उक्त शुल्कसम्बन्धी व्यवस्था खारेज गरिदिएको थियो । सोमबार सार्वजनिक गरिएको प्रस्तावित नियमअनुसार नयाँ शुल्कबाट अमेरिकी अध्यागमन प्रणाली सञ्चालनमा लाग्ने खर्च उठाउने र अमेरिकी कम्पनीलाई स्वदेशी कामदार नियुक्त तथा उनीहरूको पारिश्रमिक बढाउन प्रोत्साहित गर्ने प्रशासनको दाबी छ ।
यद्यपि, यो प्रस्ताव अहिले नै लागू हुने व्यवस्था भने होइन । नियमलाई अन्तिम रूप दिनुअघि ३० दिनसम्म सार्वजनिक प्रतिक्रिया मागिएको छ । प्रस्तावविरुद्ध कानुनी चुनौती आएमा प्रक्रिया अझ लम्बिन सक्नेछ ।
एच–१बी भिसा विशेष सीप र उच्च शैक्षिक योग्यता आवश्यक पर्ने क्षेत्रमा विदेशी नागरिकलाई अमेरिकामा काम गर्न अनुमति दिने प्रमुख भिसा कार्यक्रम हो । सामान्यतः यसका लागि कम्तीमा स्नातक तह वा सोसरहको योग्यता आवश्यक पर्छ । भिसा तीन वर्षका लागि जारी हुने र थप तीन वर्ष नवीकरण गर्न सकिने व्यवस्था छ । अमेरिकी कानुनअनुसार प्रत्येक वर्ष ६५ हजार एच–१बी भिसा उपलब्ध हुन्छन् । अमेरिकाका उच्च शिक्षण संस्थाबाट उन्नत तहको डिग्री हासिल गरेका व्यक्तिका लागि थप २० हजार भिसा छुट्याइएको छ ।
तर यो कार्यक्रमको दुरुपयोग भइरहेको अनि यसकै कारण अमेरिकी नागरिकलाई रोजगारीको अवसरमा असर परेको दाबी ट्रम्प प्रशासनले गर्दै आएको छ । अमेरिकी कम्पनीका लागि विदेशी कामदार ल्याउनुभन्दा अमेरिकी नागरिकलाई नै रोजगारी दिएर आवश्यक सीपको तालिम दिनुपर्ने धारणा उपराष्ट्रपति जेडी भान्सले पनि राखेका छन् ।
एच–१बी भिसामा भारी शुल्क लगाउने ट्रम्प प्रशासनको प्रयास सन् २०२५ को सेप्टेम्बरबाट सुरु भएको थियो । त्यतिबेला ट्रम्पले कार्यकारी आदेशमार्फत १ लाख डलर शुल्क लगाउने व्यवस्था गरेका थिए । त्यसअघि एच–१बी आवेदन शुल्क करिब ३ हजार डलर आसपास थियो । तर, गत जुनमा बोस्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश लियो सोरोकिनले उक्त शुल्क खारेज गरिदिएका थिए । राष्ट्रपतिलाई एच–१बी आवेदनमा नयाँ करसरहको शुल्क लगाउने अधिकार नभएको र संघीय अध्यागमन नीतिमा यस्तो परिवर्तन गर्ने अधिकार कांग्रेसमा रहेको उनको ठहर थियो ।
पछिल्लो समय अमेरिकामा एच–१बी भिसामा काम गर्ने नेपालीहरूको संख्या बढ्दो छ । आर्थिक वर्ष २०२० मा १ हजार ६०५ जना नेपाली यस भिसामा अमेरिकामा बसिरहेका थिए । आव २०२४ मा यो संख्या २ हजार १५७ रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले सार्वजनिक गरेका प्रतिवेदनहरूले देखाएका छन् ।