इरानले आफ्नो छोरा मार्न खोजेको नेतन्याहुको दाबी

आप्रवासन आप्रवासन

 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । तर उनले यस्तो प्रयास कहिले र कहाँ भएको थियो अनि आफ्ना कुन छोरालाई निशाना बनाइएको थियो भन्नेबारे कुनै विवरण भने दिएका छैनन् । 

सोमबार नेतन्याहुले यस्तो दाबी गरेका हुन् । अक्टोबरमा हुने आमनिर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणमा उनको गठबन्धन पछि परिरहेको र अमेरिका–इजरायलले इरानविरुद्ध युद्ध सञ्चालन गरिरहेको अवस्थामा उनको यो भनाइ आएको हो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा तेहरानमा आक्रमण गरेपछि इरान युद्ध सुरु भएको थियो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित उनका परिवारका चार सदस्य मारिएका थिए । मृतकमध्ये उनकी छोरी बोश्रा र १४ महिनाकी नातिनी जाहरा पनि थिए ।

‘यो अविश्वसनीय घटना हो । इरानले मेरा एक छोरालाई निशाना बनाएको थियो । इरानले उनलाई मार्ने प्रयास गरेको थियो, मेरा एक छोराको हत्या गर्ने प्रयास गरेको थियो,’ नेतन्याहुले भने ।

‘द जेरुसेलम पोस्ट’का अनुसार नेतन्याहुले सरकारसमर्थक मानिने रूढिवादी इजरायली सञ्चारमाध्यम च्यानल १४ लाई दिएको टेलिफोन अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् । इजरायली सेनाका पूर्वप्रमुख गादी आइसेनकोटका लागि एउटा सुरक्षा निकायले सुरक्षा टोली उपलब्ध गराउन अस्वीकार गरेको समाचारबारे प्रतिक्रिया दिँदै नेतन्याहुले आफ्ना छोरामाथि भएको भनिएको आक्रमणको प्रसंग उठाएका थिए । आगामी निर्वाचनमा प्रधानमन्त्री पदका लागि नेतन्याहुसँग कडा प्रतिस्पर्धामा रहेका आइसेनकोटलाई चौबीसै घण्टा सुरक्षा दिनुपर्ने उनले बताएका छन् ।

‘यो विलासिता होइन,’ उनले आइसेनकोटको सुरक्षाबारे भने, ‘त्यस्तो गरिएन भने इरानीहरू सफल हुनेछन्,’ । नेतन्याहुका दुई छोरा र एक छोरी छन् । ‘द जेरुसेलम पोस्ट’का अनुसार उनका दुवै छोरा र पत्नीलाई इजरायली अधिकारीहरूले जुलाईमा थप व्यक्तिगत सुरक्षा उपलब्ध गराएका थिए । उनका जेठा छोरा याइर ३५ वर्षका छन् । उनी सन् २०२४ को सुरुदेखि अमेरिकाको मियामीमा लामो समय बस्दै आएका छन् । उनको सुरक्षामा राज्यकोषबाट हुने खर्चलाई लिएर इजरायलमा विवादसमेत भएको थियो ।

यसैबिच, इरानले अली खामेनी र उनका परिवारका सदस्यको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ । अली खामेनीको मृत्यु भएको एक सातापछि उनका जेठा छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको थियो । मोज्तबा नयाँ सर्वोच्च नेता बनेपछि सार्वजनिक रूपमा देखिएका छैनन् ।

तर आफ्ना पिताको अन्त्येष्टि समारोहका अवसरमा प्रकाशित सन्देशमा उनले पूर्वसर्वोच्च नेताको ‘रगतको बदला लिने’ प्रतिबद्धता व्यक्त गरेका थिए ।