दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि भएको आक्रमणमा दुई इथियोपियाली शान्तिरक्षकको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको कडा निन्दा गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सोमबार अज्ञात सशस्त्र समूहले संयुक्त राष्ट्रसङ्घीय मिसन इन साउथ सुडान (युएनएमआइएसएस) को गस्तीमाथि आक्रमण गरेको थियो। आक्रमणमा तीन इथियोपियाली शान्तिरक्षक, दुई दक्षिण सुडानी प्रहरी कर्मचारी र युएनएमआइएसएसका दुई नागरिक कर्मचारी गरी सात जना घाइते भएका छन्।
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकविरुद्ध हुने आक्रमणलाई युद्ध अपराध मान्न सकिने बताउँदै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेका छन्।
उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै, पीडित तथा उहाँहरूका परिवारसँग कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घ उभिइरहने प्रतिबद्धता दोहोर्याएका छन्।