संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ ।
राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई धपाउने धम्की अस्वीकार्य भएको बताए।
“बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्कीको सन्दर्भमा, यो अत्यन्त आपत्तिजनक कुरा हो भन्नेमा हामी सबै सहमत हुन सक्छौँ,” उनले भने।
इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने क्रम जारी रहेमा सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो। पछिल्ला दिनमा यस्ता घटना बढेका छन् । हमासले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार गाजा सीमावर्ती बस्तीमा चारवटा चङ्गा फेला परेका थिए भने आइतबार इजरायली सेनाले एउटा चङ्गा खसालेको थियो । पछिल्ला केही दिनमा फेला परेका चङ्गाको सङ्ख्या करिब १० पुगेको बताइएको छ ।
यी घटनाले विगतमा गाजाबाट इजरायलतर्फ उडाइएका आगो लगाउने चङ्गा र बेलुनको घटनालाई पुनः स्मरण गराएको छ । त्यस्ता चङ्गा र बेलुनका कारण दक्षिणी इजरायलका कृषि क्षेत्रमा आगलागी भएका थियो ।
इजरायली अधिकारीका अनुसार पछिल्ला चङ्गा उडाउने घटनामा हमासको सङ्लग्नता हुन सक्ने आशङ्का गरिएको छ । ती चङ्गामा विस्फोटक पदार्थ भने नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्न त्यसो गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै चङ्गा, ड्रोन र बेलुन उडाउनेकार्य तत्काल नरोके त्यसमा सङ्लग्न व्यक्तिविरुद्ध सैन्य कारबाही तीव्र पार्ने चेतावनी दिएका थिए । उनीहरूले त्यस्ता गतिविधि हुने क्षेत्रबाट बासिन्दालाई हटाउनेसमेत बताएका थिए।
हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले ‘भग्नावशेषबीच आफ्नो निर्दोष बाल्यकाल खोजिरहेका बालबालिकाले’चङ्गा उडाएको दाबी गरेका छन्।
हमासले छुट्टै विज्ञप्तिमार्फत आइतबार मध्य गाजामा भएको इजरायली हवाई आक्रमणलाई चङ्गा उडाइएको घटनासँग जोडेको आरोप लगाएको छ। गाजाको नागरिक सुरक्षा उद्धार सेवाका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो।
राष्ट्रसङ्घकी प्रवक्ता शमदासानीले इजरायलको पछिल्लो चेतावनी अधिकारीको उच्च तहबाट आएका आपत्तिजनक अभिव्यक्तिको शृङ्खलामध्येको पछिल्लो भएको बताए।
उनले त्यस्ता अभिव्यक्तिले अन्तरराष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनप्रति पूर्ण अनादर देखाएको र गम्भीर हिंसालाई प्रोत्साहन गर्ने जोखिम रहेको बताए।